नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

बैंकहरुले घटाए मुद्दती बचतमा दिने व्याजदर

ओखलढुङ्गान्युज, मंशिर १ । मंशिर महिनाको सुरुवात भएसँगै वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।

बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटाएका हुन् । कात्तिक महिनामा ९ दशमवल ९६ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मङ्सिर महिनामा ० दशमलव ३३ प्रतिशत बिन्दु घटेर ९ दशमलव ६३ प्रतिशतमा झरेको हो । त्यसै गरी संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०  दशमलव ३०६ प्रतिशत बिन्दु घटेर ७ दशमलव ५४ प्रतिशतमा झरेको छ ।

आजदेखि लागूहुनेगरि १३ वाणिज्य बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका हुन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क रहेको छ । एनआइसी एसियाले कात्तिक महिनाका तुलनामा मङ्सिर महिनामा ब्याजदर २ दशमलव ०३ प्रतिशत बिन्दुले घटाएको छ । एनआइसी एसियापछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबी बैङ्क लिमिटेड रहेको छ ।

६ वाणिज्य बैङ्कले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैङ्कले ब्याजदर बढाएको छ । बेलाबेलमा मुद्दती बचतमा बार्षिक १३ प्रतिशत सम्म ब्यज दिदै आएका बैंकहरुले मंशिर लागेसँगै झण्डै साँढे ८ प्रतिशतसम्म झारेका हुन् । दशैं तिहारका कारण बैंकमा पैसा थुप्रिएर लगानी लाग्न नसक्दा बचतकर्तालाई दिने व्याजको दर भने बैंकहरुले घटाएका हुन् ।