नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा बैशाखमा दोश्रो ओखलढुङ्गा महोत्सव हुने

ओखलढुङ्गान्युज, चैत १३ । आगामी २०८१ सालको बैशाख महिनामा ओखलढुङ्गामा दोश्रो ओखलढुङ्गा महोत्सव हुने भएको छ । “स्थानीय उत्पादन, उद्योग, पर्यटन,  तथा पुर्वाधार, मौलिक कला सस्कृति समृद्ध ओखलढुङ्गाको आधार” भन्ने मुल नाराका साथ जिल्लामा दोस्रो ओखलढुङ्गा महोत्सव आयोजना हुने भएको हो ।

आज ओखलढुङ्गामा आयोजित एक पत्रकार सम्मेलन मार्फत आगामी बैशाख ५ गते देखी बैशाख १५ गते सम्म दोश्रो ओखलढुङ्गा महोत्सव सञ्चालन हुने जानकारी गराईएको हो । महोत्सव बारे जानकारी दिन जिल्लाको उद्योग वाणिज्य संघको सभाहलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, ब्यापार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।

अध्यक्ष मास्केले स्थानीय तथा स्वदेशी उत्पादन र उपभोक्ताहरु बिच प्रत्यक्ष पहिचान गराउनुको साथै जिल्ला र जिल्ला बाहिरका ब्यवसायी बिच ब्यापार सम्बन्ध बढाउने जस्ता महोत्सवको उदेश्य रहेको बताए । सिद्धिचरण नगरपालिका वडा नं. १२ स्थित स्थानीय खेल मैदानमा महोत्सव सञ्चालन हुनेछ । महोत्सव अवधिभर ६० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष मास्केको भनाई छ ।

महोत्सवमा कृषि, पर्यटन, घरेलु हस्तकला, औद्योगिक लगायतसंग सम्बन्धित १ सय ५० भन्दा बढी स्टल राखिने योजना रहेको अध्यक्ष मास्केले बताए । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । ओखलढुङ्गा उद्योग बाणिज्य संघको आयोजना र एआईके ग्रुप काठमाण्डौको सह—आयोजनामा महोत्सव हुन लागेको हो ।