नेपाली समय Loading...२०८१ जेष्ठ ८ मंगलवार

शब जलाउन रुख काट्दा ओखलढुङ्गामा एक घाईते

ओखलढुङ्गान्युज, १८ बैशाख शब जलाउनका लागि आवश्यक पर्ने रुख काट्ने क्रममा ओखलढुङ्गामा एक पुरुष घाईते भएका छन् । घाईते हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामीरेका ५० बर्षिय लेख बहादुर बानिया रहेका छन् ।

मंगलबार विहान स्थानीय एक बृद्धको मृत्यु भएपछि बानिया लगायतका मलामीहरु शब लिएर खहरे दोभान तर्फ गएका थिए । शब जलाउनका लागि दाउरा कम भएपछि अरु केही मलामी सहित बानिया पनि दाउरा काट्न जंगल तर्फ गएका थिए । जंगलमा उत्तिसको रुख काट्ने क्रममा उत्तिसको हाँगोले लागेर बानिया गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

गम्भिर घाईते भएका बानियालाई तत्काल उपचारका लागि सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गा ल्याईएको थियो । प्राथमिक उपचार पश्चात सामुदायीक अस्पताल सोब्रुले बानियालाई थप उपचारका लागि काठमाण्डौं रिफर गरेको थियो । गम्भिर घाईते भएका बानियाको बायाँ पटिको हात र कञ्चटमा चोट लागेको तथा अबस्था गम्भिर भएकाले काठमाण्डौं रिफर गरेको सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गाले जनाएको छ ।

अस्पतालले थप उपचारका लागि काठमाण्डौं रिफर गरेपछि गम्भिर घाईते भएका बानियालाई सिम्रिक एयरको हेलिकप्टर मार्फत अपरान्ह साँढे ४ बजे काठमाण्डौं पठाईएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।