नेपाली समय Loading...२०८३ आश्विन २, शुक्रवार

‎सिडिओ र डिएसपी आउँदा विद्यालयमा भव्य स्वागत 

ओखलढुङ्गान्युज, २ असोज । प्रमुख जिल्ला अधिकारी (सिडीओ) र जिल्ला प्रहरी कार्यालय प्रमुख (डिएसपी) आफ्नो प्राङ्गणमा आइपुग्दा रामेछापको खाँडादेवी गाँउपालिका १ मा रहेको श्रीमाविले भव्य स्वागत गरेको छ । विद्यालय अनुगमन तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमको अन्तरक्रिया कार्यक्रमका लागि आइपुगेका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टिमलाई माविले भव्य स्वागत गरेको हो ।

‎विद्यालय अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरले श्री मावि राकाथुमको व्यवस्थापकीय पक्षको खुलेर प्रशंसा गरेकी थिइन् । विद्यालयको सीमित स्रोत र साधनका बावजुद पनि विद्यालयको शैक्षिक वातावरण निकै गुणस्तरीय र सिक्न लायक रहेको भन्दै आगामी दिनहरूमा पनि विद्यालयको प्रगतिको लागि शुभकामना व्यक्त गरेकी थिइन् । 

‎विद्यालयको अनुगमनका लागि आइपुगेका जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेलले २०७६ पश्चात प्रत्येक वर्षको एसइइ परीक्षामा श्री मावि राकाथुमले हरेक वर्ष उच्च ग्रेडसहित शतप्रतिशत नतिजा प्राप्त गरेको बताएका थिए । विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको कडा मेहनतका कारण उक्त सफलता प्राप्त भएको भन्दै इकाई प्रमुख गजुरेलले आगामी दिनहरुमा पनि माविले यस्तै नतिजा प्राप्त गर्ने अपेक्षा रहेको बताएका थिए ‌। विद्यालयले प्राप्त गर्ने उच्च शैक्षिक गुणस्तरका लागि दिनरात नभनी लागि परेकोमा सम्पूर्ण शिक्षकहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

‎विद्यालयको अनुगमनका क्रममा विद्यालयमा रहेको शौचालयमा नियमित सरसफाई नभएको भन्दै त्यसलाई नियमितता दिन र खानेपानीको उचित व्यवस्थापनका लागि विद्यालय प्रशासनले ध्यान दिन अनुगमन टोलीले सुझाव दिएको छ । त्यस्तै विद्यालयमा रहेको पुराना सोलरहरूको सही सदुपयोग नभएको भन्दै गाउँपालिकासँग समन्वय गरेर त्यसको उचित व्यवस्थापन गर्न समेत अनुगमन टोलीले विद्यालयलाई सुझाव दिएको छ । 

‎समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरूसँग भएको छलफलको क्रममा रामेछाप जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले लागू पदार्थ त्यसको प्रयोगले हुने क्षति तथा समस्याका बारेमा प्रस्तुति राखेका थिए । त्यस्तै साइबर क्राइम कसरी हुन्छ र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा समेत प्रहरी नायब उपरीक्षक जैसवारले प्रस्तुती मार्फत विद्यार्थीहरुलाई सचेत गराएका थिए ‌ । 

‎सचेतना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुँवरले समेत विद्यार्थीहरूलाई लागू पदार्थ दुर्वेसनीमा नफस्न तथा त्यसबाट आफू र आफू नजिकको समाजलाई टाढा राख्नको लागि जिम्मेवारी बन्न विद्यार्थीहरुलाई अनुरोध गरेका थिए । त्यस्तै जिल्ला शिक्षा तथा समन्वय एकाइ प्रमुख गजुरेलले दुर्वेसनीबाट टाढा रहन र समाजलाई दुर्व्यशनीबाट टाढा राख्न पहल गर्नेछु भन्ने विद्यार्थीहरूलाई प्रतिबद्धता गराएका थिए । 

‎कार्यक्रममा श्री मावि राकाथुमका प्रधानाध्यापक चक्रलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन राणा मगरले विद्यालयमा आएर कार्यक्रम सञ्चालन गरि विद्यार्थीहरूलाई सुसुचित गरिदिनुभएकोमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, शिक्षा इकाई प्रमुख लगायतको टोलीलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत चुडामणि अर्यालले सञ्चालन गरेका थिए ‌।