दूधकोशी नदीमा अज्ञात पुरुषको शव फेला

ओखलढुङ्गान्युज, २ असोज । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारस्थित दूधकोशी नदी किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ । विहिबार साँझ करिब साढे छ बजेको समयमा नदी किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी ४०–४५ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
सब फेला परेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा पुगेको प्रहरीले घटनास्थलको मुचुल्का तयारी गरी सबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल रुम्जाटारको शवगृहमा सुरक्षित राखेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । पहिचानका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा परिपत्र गरी खोजी तथा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले उक्त हुलियासँग मिल्ने व्यक्ति आफन्तबाट हराइरहेको भए तत्काल कार्यालयमा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ।

