नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

सुपर ओभरमा हा¥यो नेपाल, ओमान विजयी

ओखलढुङ्गान्युज, कात्तिक १९ । टी–२० विश्वकप एशिया छनोट क्रिकेट खेलको फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको छ । सुपर ओभरमा पुगेको खेलमा नेपाल ११ रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो ।

ओमानले पनि निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा सन्दीप लामीछानेले २ विकेट र १ रन आउटसहित ३ विकेट लिएका थिए । तर ओमानलाई अन्तिम बलमा २ रन चाहिएको अवस्थामा फैयाज बट रन आउट हुँदा खेल बराबरीमा रोकिएर खेल सुपरओभरमा पुगेको थियो ।

सुपरओभरमा सुरुमा ब्याटिङ गरेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए । तर पहिलो बलमै ब्याटर कुशल भुर्तेललाई गुमायो । त्यसपछि कुशल मल्ल आएका थिए । मल्लले २ चौका हाने पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन । जवाफी ब्याटिङ गरेको नेपालले जम्मा १० रन मात्र बनायो ।

फाईनल हारेपनि  नेपाल दश वर्षपछि टी–२० विश्वकपमा छनोट भने भइसकेको छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत  सेमिफाइनलमा शुक्रबार युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको हो । अब नेपालले सन् २०२४ जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ ।