नेपाली समय Loading...२०८१ बैशाख २७ बिहीबार

ओखलढुङ्गाका एक दर्जन भन्दा बढी स्थानका आगलागी अझै नियन्त्रण बाहिर

ओखलढुङ्गान्युज, १५ बैशाख जिल्लाका एक दर्जन भन्दा बढी स्थानहरुमा हाल आगलागी भैरहेको छ । झण्डै एक हप्ता देखी नै केहि स्थानमा भैरहेको आगलागी नियन्त्रणमा आउन नसकेको बेला थप स्थानहरुमा समेत आगलागी भएको हो ।

बैशाख ११ गतेदेखी आगलागी भैरहेको जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. २ नागीडाँडा सामुदायीक वन, चम्पादेवी गाउँपालिका वडा नं. ६ र ७ को सिमानामा रहेको चनौटे सामुदायीक वन, मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ को झम्कु सामुदायीक वनको आगलागी अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

त्यस्तै बैशाख १३ गते देखी आगलागी भैरहेको सिद्धिचरण नगरपालिका वडा नं. १ को ढाडपाखा सामुदायीक वन, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ९ माधवपुरको व्यक्तिहरुको नीजि वन, सिद्धिचरण नगरपालिका वडा नं. ९ मा रहेको ज्यामिरे सामुदायीक वनमा तथा सुनकोशी गाउँपालिका ४ सिस्नेरीको जेरुङमा रहेको गरिवी निवारण सामुदायीक वनमा समेत आगलागी भैरहेको प्रहरीले जनाएको छ ।

लिखु गाउँपालिका ६ मा साउने सामुदायीक वनमा भैरहेको आगलागी

उता बैशाख १२ गतेदेखी सुनकोशी गाउँपालिका वडा नं. १० को संसारी सामुदायीक वनमा भैरहेको आगलागी समेत नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । त्यसैगरि बैशाख १४ गते दिउँसो १ बजे देखी लिखु गाउँपालिका वडा नं. ६ को साउने सामुदायीक वन तथा नीजि वनहरु आगलागी भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आगलागी भैरहेका केहि स्थानहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय नागरिकहरुको सहयोगमा आगो नियन्त्रणमा आएको भएपनि थप स्थानहरुमा पुन आगलागी सुरु भएको प्रहरीले जनाएको छ  । केहदिन अगाडी लिखु गाउँपालिका वडा नं. ३ र ५को सिमानामा रहेको निजी तथा सामुदायीक वनमा भएको आगलागी भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

नीजि तथा सामुदायीक वनहरुमा आगलागी भएपछि जंगलमा रहेको जंगली जनावर र चराचुरुङ्गीहरु गाउँमा पसेर कृषकको बालीनालीमा दुख दिन लागेका छन् । वन क्षेत्रमा रहेको पानीका मुहानहरु सुकेका छन् भने जंगलको बाटोवाट जमिन मुनी नपुरीकन प्लाष्टिकको पाइपको सहायताले नागरिकले ल्याएको पिउने पानी अबरुद्ध हुँदा धेरै स्थानहरुमा पानीको अभाव देखिएको छ ।

विगतका वर्षहरुको तुलनामा यस वर्ष ओखलढुङ्गामा पनि आगलागीका घटना धेरै हुनुका साथै अरबौंको क्षति भएको छ । आगलागी नियन्त्रणमा सहभागी हुन र आगलागी हुनबाट बच्न र बचाउन सहयोग गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सबै नागरिकहरुमा अपिल समेत गरेको छ ।