नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

व्याकुल माइला गोल्डकप फुटबलको उपाधि सहआयोजक दुधकौशीकालाई

ओखलढुङ्गान्युज, कात्तिक १९ । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित सम्पन्न नवौं संस्करणको व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सहआयोजक दुधकौशीका आधारभूत विद्यालयले जितेको छ । शनिबार सम्पन प्रतियोगिताको फाइनलमा दूधकौशिकाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ टिमलाई ७–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

विजेता बनेसँगै दूधकौशिकाले २ लाख २ हजार २ सय २२ रुपैयाँ र चाँदीको सिल्ड जितेको छ । उपविजेता बनेको हलेसी तुवाचुङले १ लाख १ हजार १ सय ११ रुपैयाँ पाएको छ । त्यस्तै सेमिफाइनलमा पराजित भएको मितेरी युवा क्लब ‘ए’ र रिभोरुङ युवा क्लब माथिल्लो रिचुवाले २०–२० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगितामा १० हजार रुपैयाँ राशिको दिल–कर्ण बेस्ट टिम अवार्ड सप्तरंगी युवा परिवार फोकुल र ५ हजार रुपैयाँ राशिको उत्कृष्ट खेलाडी पुरस्कार सतिश सुवालले पाए । प्रतियोगिता अबधीभर ६ गोल गरेका हलेसीका सुजन माझीले सर्वाधिक गोलकर्ता अवार्ड र चन्द्रकुमार श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित हुँदै जनही ५ हजार नगद सहित पुरस्कृत भए । आयोजक नयाँ नेपालका सन्दीप राईले ५ हजार राशिको राइजिङ प्लेयर अवार्ड पाउन सफल भए ।

मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा गत कात्तिक १० गतेदेखि राष्ट्रियगानका रचयिता प्रदिप कुमार राई (व्याकुल माइला)को जन्मथलोमा नयाँ नेपाल सरोकार समाजले मानेभञ्ज्याङ–६ सोक्माटारस्थित दूधकोसी किनार मैदानमा प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा ओखलढुङ्गा, खोटाङ जिल्ला लगायतका २३ टिमले सहभागीता जनाएका थिए ।

प्रतियोगिताको विजेता टीम तथा खेलाडीहरुलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति सांसद रामहरि खतिवडाले पुरस्कार प्रदान गरे । प्रतियोगिताको समापन समारोहमा पूर्वसांसद एवम् नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार, राष्ट्रिय गानका रचयिता व्याकुल माइला, मानेभञ्ज्याङ गाउँपालिका प्रमुख ज्ञानेन्द्र रुम्दाली, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी चेतराज बराल लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।