नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ऐतिहासिक सफलता सँगै नेपाल टि–२० विश्वकपमा छनोट

ओखलढुङ्गान्युज, कात्तिक १७ । नेपालले आईसीसी टी–२० आई विश्वकप एसिया छनोट क्रिकेट प्रतियोगितामा विजयी हुदै १० वर्षपछि टि–२० विश्वकपमा छनोट भएको छ । आज मूलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै टि–२० विश्वकपमा छनोट भएको हो ।

आज (शुक्रबार) विहान ११ बजेदेखी मूलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले टस जितेर पहिले व्याटिङ गरेको थियो । पहिले व्याटिङ गर्दै ८ विकेटको क्षतिमा उसले १३४ रन बनाउदै नेपाललाइ १३५ रनको लक्ष्य दिएको थियो । आफ्नो विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले २ विकेटको क्षतिमा १७ दशमलब १ ओभर खेल्दै लक्ष्य प्राप्ती गरेको हो ।

नेपाललाई विजयी बनाउने क्रममा नेपालका खेलाडी आशिफ शेखले ६२ रन र कप्तान रोहित पौडेलले ३४ रन अविजित रहे ।  यसअघि गुलशन झा २२ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेल ११ रन मात्र बनाएर आउट भए । नेपालले आज व्याटिङ गरेका सबै खेलाडीले दोहोरो रन बनाउन सफल भएका थिए ।

यूएईविरुद्ध  कुशल मल्लले व्यक्तिगत तीन, सन्दीप लामिछानेले  दुई, कप्तान रोहित पौडल र सोमपाल कामीले एक विकेट लिए । पहिलो सफलता सोमपाल कामीको बल करण केसीले क्याच गरे ।

नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने आफ्नो समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएको थियो । यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो ।

नेपालले फाइनल खेल अब पुन ओमानसँग खेल्नेछ । अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी २० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपको लागि छनोट हुने तालिका छ ।