नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा पनि आज र भोली भिटामीन ए र जुकाको औषधी खुवाईदै

ओखलढुङ्गान्युज, कातिक १७ । नेपाल सरकारले महिला स्वास्थ्य स्वयम्सेविकाहरु मार्फत आज शुक्रबार र भोलि शनिबार देशैभर   महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्ष देखि ५ वर्ष सम्मकालाई जुकाको औषधी खुवाउँदैछ । सरकारको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो ।

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्ने गरिएको भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रम यो वर्ष बडादशैँ परेकाले १७ र १८ गते सञ्चालन हुन लागेको हो ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधी नियमित खुवाउन थालेको हो । प्रत्येक आर्थिक वर्षमा सरकारले कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी निःशुल्क खुवाउने गरेको छ ।

कार्यक्रम अन्तर्गत ओखलढुङ्गामा पनि १० हजार ७ सय बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन भैरहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका फोकल पर्सन अस्विन कुमार यादवले जानकारी दिए । फोकल पर्सन यादवका अनुसार ओखलढुङ्गा जिल्लामा रहेको ८ स्थानीय तहका ६९० महिला स्वास्थ्य स्वयम्सेविकाहरुले आज शुक्रबार ६९० स्थानबाट र आज छुटेका बालबालिकाहरुलाई भोलि शनिवार घरघरमा नै गएर भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ ।