नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको कति ?

ओखलढुङ्गान्युज, कात्तिक १५ । बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आयल निगमले मंगलबार साँझ एक सूचना प्रकाशित गरि डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको हो । 

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुने प्रबक्ता ठाकुरले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको प्रबक्ता ठाकुरको भनाई छ । मूल्य घटे सँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

डिजेल र मट्टितेलको मूल्य घटेर आएपनि आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आएको आयल निगमले जनाएको छ । पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आएको भएपनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको पनि आयल निगमले जनाएको छ ।