नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

आईसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

ओखलढुङ्गान्युज, कातिक १४ । नेपालले आईसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा मलेसियाविरुद्ध ६ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । 

आज (मंगलबार) भएको खेलमा नेपाली ब्याट्सम्यानद्वय कुशल मल्ल र कुशल भुर्तेलको विष्फोटक ब्याटिङसँगै नेपालले सानदार जीत हात पारेको हो । मलेसियाले नेपालसामू जितका लागि दिएको १ सय ६६ रनको चुनौती पछ्याउने क्रममा ३४ बलमा मल्लले सात वटा छक्का र दुई चौकाको मद्धतमा ६५ रन बनाए भने भुर्तेलले ४३ रन बनाएका थिए ।  

भुर्तेलले २५ बलमा चार चौका र चार छक्का प्रहार गरे । उनले सोमबार सिंगापुर विरुद्धको खेलमा सर्वाधिक ७४ रन बनाएका थिए । सिंगापुरविरुद्ध उनले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै आशिफ सेख ३२ रन बनाएर आएट भए । उनले २३ बलमा एक चौका र दुई छक्काका साथ ३२ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल ८ बलमा दुई रन बनाएर आउट भए । सन्दीप जोरा १६ बलमा १८ र विवेक यादवले दुई बलमा २ रन अविजित रहे । 

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक/एक विकेट लिए ।

नेपालले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई दोस्रो खेलमा ६ विकेटले पराजित गरेपछि एक खेल अघि नै आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

नेपालले मलेसियालाई पराजित गरेपछि घरेलु टोलीसँगै दुई खेल जितेको ओमान पनि सेमिफाइनल पुगिसकेको छ । अब बिहीबार ओमान र नेपालबीचको खेल समूह विजेता बन्नको लागि निर्णायक हुनेछ । ८ टिम सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् र सेमिफाइनल जित्ने दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।