नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गा क्याम्पसः आवेदन दिने ८३ जनालाई छात्रबृत्ति

ओखलढुङ्गान्युज, असोज जिल्ला कै पुरानो क्याम्पसको रुपमा परिचत ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाले क्याम्पसमा अध्ययनरत ८३ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ । क्याम्पसमा अध्ययरत रहेका विभिन्न तह र संकायमा अध्ययनरत गरिव, जेहन्दार, आदिवासी जनजाति, दलित, अल्पसंख्यक समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न लागेको हो ।

क्याम्पसले केहि समय अगाडी शैक्षिक वर्ष २०७९ समुहका नियमित विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको थियो । आवेदन दिएक विद्यार्थीहरु मध्येवाट विश्वविद्यालय अनुदान आयोगले तोकेको मापदण्ड अनुसार आयोग कै आर्थिक सहयोगमा क्याम्पसले छात्रबृत्ति वितरण गर्न लागेको हो ।

क्याम्पसले प्रदान गर्ने छात्रबृत्ति अन्तर्गत स्नातक तहमा पूर्ण छात्रवृत्ति पाउने १८ जना छन् । स्नातक तहका छात्रबृत्ति पाउने मध्ये मानविकी तथा समाजिक शास्त्र संकायमा १ जना, व्यवस्थापन संकायमा १० जना र शिक्षाशास्त्र संकायमा ७ जना रहेका छन् । स्नातकोत्तर तहमा शिक्षाशास्त्र तर्फ एक जनाले पनि क्याम्पसवाट छात्रबृत्ति पाउने क्याम्पसले जनाएको छ । शैक्षिक वर्ष २०७९ का लागि छात्रवृत्ति पाउने ८३ जनाको विवरण समेत क्याम्पसले सार्वजनिक गरेको छ । क्याम्पसले नियमित कक्षा आउने र आवेदन दिएका सबैलाई छात्रवृत्तिका लागि छनौट गरेको थियो ।

क्याम्पसले अरु तीन जनालाई स्नातक तह नियमित अध्ययन गरुञ्जेल पूर्ण छात्रवृत्तिका लागि विश्वविद्यालय अनुदान आयोगमा छनौट भइ सिफारिस गरेको छ । त्यस्तै क्याम्पसको अक्षयकोषबाट पूर्ण छात्रबृत्ति पाउने एकजना विद्यार्थीको भने छनौट गर्न क्याम्पसले बाँकी राखेको छ । अक्षयकोषवाट छात्रबृत्ति पाउने विद्यार्थीको समेत छनौट गरिसकेपछि एकसाथ सबैलाई छात्रवृत्ति वितरण गर्ने तयारी गरेको क्याम्पसका निमित्त क्याम्पस प्रमुख सोमनाथ पौडेलले जानकारी दिए ।

ओखलढुङ्गा क्याम्पसमा स्नातक तहमा वीएतर्फ समाजशास्त्र, अर्थशास्त्र र नेपाली पढाइ हुदै आएको छ । वीएड तर्फ अंग्रेजी, नेपाली, गणित, अर्थशास्त्र, स्वास्थ्य र जनसंख्या विषयमा पढाइ हुन्छ । विविएस तर्फ लेखाशास्त्र र व्यवस्थापन तथा एमएडमा पाठ्यक्रम र मूल्याकन, स्वास्थ्य शिक्षा पढाइ हुदै आएको छ । क्याम्पसले यस वर्षबाट इन्टरनेट सुविधासहितको भर्चुअल कक्षा समेत सञ्चालनको तयारी गरेको छ ।