नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत मानेभञ्ज्याङ्गका सुत्केरीको उद्धार

फायल तस्वीर

ओखलढुङ्गान्युज, भदौ ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाकी एक सुत्केरी महिलाको मंगलबार विहान हेलिकप्टरबाट उद्धार गरिएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ८ राघपुरकी दान बहादुर दर्जीका श्रीमती ३५ वर्षिया सुत्केरी वेदीमाया नेपालीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

सुत्केरी महिलालाई शोमबार नै काठमाण्डौं लैजाने प्रयास भएपनि शोमबार दिनभरि भएको मौसम खराबीका कारण ओखलढुङ्गामा हेलिकप्टर अवतरण गर्न सकेन । शोमबार हेलिकप्टर आउन नसकेपछि समन्वय गरेर आज (मंगलबार) विहानै राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत सूत्केरीलाई काठमाण्डौं पठाईएको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिईन् ।

गत शनिवार मात्र वेदीमाया जिल्ला सदरमुकाममा रहेको सामुदायीक अस्पताल सोब्रुमा सुत्केरी भएकी थिईन् । विगतमा दुई छोरीको जन्म दिईसकेकी नेपालीले तेश्रो सन्तानको रुपमा छोरालाई जन्मदिएकी थिईन् । बच्चालाई जन्मदिएपछि नेपालीको कम्मर मुनीको भाग क्रमशः चल्न छाडेपछि सामुदायीक अस्पताल सोब्रुले सुत्केरीलाई काठमाण्डौं लैजानका लागि सिफारिस गरेको थियो ।