नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लिखु गाउँपालिका: ग्रायुसिका विद्यार्थीको भविष्यमाथि चरम लापरबाही

ओखलढुङ्गान्युज, भदौ ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ६ मा रहेको ग्रामोदय युगकवि सिद्धिचरण माविमा अध्ययन गरेका छात्रा–छात्रको भविष्यमाथि विद्यालयले चरम लापरबाही गरेका पाइएको छ । शैक्षिक शत्र २०७९ मा उक्त विद्यालयमा अध्ययन गरि प्राविधिक धार तर्फ कक्षा १२ को परीक्षा दिएका १२ जना विद्यार्थीहरुको भविष्यमाथि विद्यालय प्रशासनले लापरबाही गरेका हुन् ।

गत बैशाखको अन्तिम हप्तादेखी जेठको पहिलो हप्ता सम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा लिखु गाउँपालिका वडा नं. ६ मा रहेको युगकवि सिद्धिचरण माविबाट ८९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये कृषि विज्ञान तर्फ १२ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । परीक्षार्थी विद्यार्थीहरुको आन्तरीक मूल्यांकन तर्फको नम्बर प्रविष्ट गराउने क्रममा विद्यालय प्रशासनले गम्भिर लापरबाही गरिदिएका हुन् ।

प्राबिधिक धार तर्फका विद्यार्थीहरुको केहि विषयको आन्तरिक मूल्यांकन तर्फ ५० पूर्णांकको परीक्षा हुने गर्दछ । तर विद्यालयले भने २५ पूर्णाकको परीक्षा भनि आन्तरिक मूल्यांकनमा नम्बर राखेर पठाएका हुन् । कक्षा १२ को परीक्षाको परीक्षाफल प्रकाशन भएर मार्कसिट उपलब्ध भएसँगै विद्यार्थीको भविष्यमाथि लापरबाही गरेर आन्तरिक मूल्यांकन तर्फको नम्बर कम पठाएको पाइएको हो ।

आन्तरिक मूल्यांकन तर्फको नम्बर कम पठाएपछि उच्च ग्रेड आउनुपर्ने विद्यार्थीको ग्रेड मूल्यांकन नम्बर कम आएको छ । विद्यार्थीको भविष्यको बारेमा लापरबाही भएको विषयमा प्रश्न गर्दा विद्यालयको प्रधानाध्यापक पदम कुमार रोकाले विद्यालयले लापरबाही नगरेको दावी गरे । उनले भने, ‘सामान्यधार तर्फका विद्यार्थीको आन्तरिक मूल्यांकनको पूर्णांक २५ को हुन्छ । माद्यमिक शिक्षा परीक्षा बोर्डले पठाएको फम्र्याट पनि त्यहि खालको थियो । पुरानो ब्राउजरबाट आन्तरिक मूल्यांकनको नम्बर पठाउदा समस्या देखियो । समस्या समाधानका लागि विद्यालयले पहल गरिरहेको छ ।’

तर अविभावकहरुले भने आफ्नो बालबालिकाको भविष्यमा विद्यालय प्रशासनले जानी जानी लापरबाही गरेको बताए । सम्बन्धित शिक्षकको नै प्राविधिक धार तर्फको आन्तरिक मूल्यांकनको पूर्णांकको बारेमा ज्ञान नभएको आरोप लगाए । विद्यार्थीको परीक्षाको पूर्णांकको बारेमा त ज्ञान नहुने शिक्षकले पढाउदा आफ्ना बालबालिकाको शिकाई कस्तो होला भनेर चिन्ता लागेको एक अविभावकले बताए ।

कक्षा १२ को परीक्षाफल प्रकाशन भएको झण्डै दुईहप्ता वित्न लाग्दा विद्यालयले लापरबाही गरेको भन्दै लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले सामाजिक सञ्जाल मार्फत प्रश्न उठाएकी थिईन् । सामाजिक सञ्जाल मार्फत विद्यालयको लापरबाही बाहिरीएपछि विद्यालय प्रशासनले हतार हतार विद्यालयको सिफारिस सहित राष्ट्रिय परीक्षा बोर्डलाई चिठी लेखेको छ । चिठी लिएर अहिले विद्यालयका लेखापाल पुष्पराज भट्टराईलाई राष्ट्रिय परीक्षा बोर्डमा पठाईएको प्रधानाध्यापक रोकाले बताए । परीक्षा बोर्डका प्रमुखसँग छलफल भएकोले १२ जनानै विद्यार्थीहरुको मार्कसिट सच्चिएर आउने प्रधानाध्यापक रोकाले बताए ।

कतिपय विद्यालयहरुमा शिक्षकहरुले गर्ने सानो सानो लापरबाहीका कारण विद्यार्थी तथा तिनका अविभाबकले मानसिक तनाब भोग्दै आउनु परेको छ । विद्यालय तथा विद्यायलको शिक्षकहरुमा केही प्राविधिक ज्ञानको अभावमा पनि कहिलेकाही समस्या आउने गरेकोले सम्बन्धित निकायले समेत ध्यान दिनुपर्ने अविभावकहरुले बताएका छन् ।