नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

राईका नाक्सो बुद्धिकुमारको ‘किरात बायुङ राई तुम्लोयालो’ पुस्तक सार्वजनिक 

ओखलढुङ्गान्युज, साउन २७ । बुद्धिकुमार बायुङ राईद्वारा लिखित पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ प्रकाशित भएको छ । किरात समुदाय अन्तर्गत बायुङ राईहरुको मुन्दुम सम्बन्धि उक्त पुस्तकको विमोचन शनिबार सिद्धिचरण नगरपालिकाको हलमा गरिएको हो ।

किरात बायुङ राई सुम्निखिमको आयोजनामा भएको कार्यक्रममा राष्ट्रियगानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला)ले पुस्तकको विमोचन गरे । सिद्धिचरण नगरपालिका ११ निवासी बुद्धिकुमार बायुङ राई पुस्तकका लेखक तथा प्रकाशक दुवै हुन् । 

७७ वर्षिय लेखक बायुङ समुदायको न्वाक्सो अर्थात पूजारी समेत हुन् । बायुङ समुदायका मुन्दुम विज्ञ राईले पुस्तकमा सृष्टिको कथादेखि जन्म मृत्यु सम्मका बायुङ समुदायको संस्कारमा प्रयोग हुने मुन्दुमहरुको शब्दावली बायुङ र नेपाली दुवै भाषामा लेखेका छन् । 

पुस्तकमा मानव सृष्टिका कथा मिथकहरु, कर्मकाण्डहरु, प्रकृति पूजा, पितृ पूजा जस्ता मुन्दुमी विषय समेटिएको छ । बुद्धिकुमारको यसअघि २०६९ सालमा ‘किरात बाहिङ (बायुङ) तुम्लो’ पुस्तक प्रकाशित भईसकेको छ । 

चारसय ४७ पृष्ठ रहेका ‘किरात बायुङ राई तुम्लोयालो’ पुस्तकको मूल्य ५ सय ५० रहेको छ । किरात राई यायोक्खा ओखलढुङ्गाका संस्थापक अध्यक्ष समेत रहेका लेखक बुद्धिकुमार बायुङ राई अवकाशप्राप्त भारतीय सेना हुन् ।

कुम्भराज राईबाट