नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

आजबाट स्तनपान सप्ताह सुरु

ओखलढुङ्गान्युज, साउन १६ । हरेक बर्ष मनाइने विश्व स्तनपान सप्ताह आजबाट नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।

बच्चाहरुलाई गराइने स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ । यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे महत्व बुझाउन यस वर्षको फरक नारा तय गरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर ६ महिना मुनिका ४४ प्रतिशत शिशुलाई मात्र स्तनपान गराइन्छ । स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा ८ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिने अवस्था रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ । 

नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवर्द्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण गर्ने र सार्वजनिकस्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापनाका लागि काम गर्दै आएको छ ।