नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नेचाको स्वास्थ्य सेवा अव नयाँ भवनवाट

ओखलढुङ्गान्युज, असार १७ सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं. ३ नेचाको स्वास्थ्य सेवा नयाँ भवनवाट सुरु हुने भएको छ । स्वास्थ्य चौकीको नयाँ भवन शनिवार हस्तान्तरण भएसँगै स्वास्थ्य चौकीवाट प्रदान हुने सेवा नयाँ भवनवाट प्रदान गर्न लागिएको हो ।

आर्थिक वर्ष २०७३/७४ मा ठेक्का लागेको उक्त भवन करीब ५ वर्ष लगाएर निर्माण कार्य सम्पन्न भएको हो । निर्माण कार्य सम्पन्न भएसँगै सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका ईञ्जिनियर शुशिल कुमार चौधरी तथा ठेकेदार कम्पनीका आधिकारीक प्रतिनिधी यादव थापाले शनिवार एक कार्यक्रमका विच वडा अध्यक्ष सिताराम भट्टराईलाई भवन हस्तान्तरण गरेका हुन् ।

भवन निर्माण कार्य सम्पन्न चाडै सक्नु पर्ने भएपनि देशमा संघिता लागू भएपश्चात भवन निर्माणका लागि कुन मन्त्रालय तथा कार्यालय मार्फत सञ्चालन र भुक्तानीको विषयमा टुङ्गो नलाग्दा भवन निर्माणमा केही ढिलाई भएको ठेकेदार प्रतिनिधी यादव थापाले बताए । भुक्तानीको विषयमा टुङ्गो लाग्नासाथ भवन निर्माण कार्य सकेर हस्तान्तरण गरिएको उनले बताए ।

स्वास्थ्य चौकी भवन निर्माणका लागि सगरमाथा घिमिरे निर्माण सेवा प्रालिले ठेक्का लिएको थियो । एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत भवनको कूल लागत रकम रु. २ करोड ५९ लाख ७० हजार २ सय ९० रुपैया ५५ पैसा रहेको थियो ।