नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मुख्यमन्त्री कप फुटवल: धनकुटाको विजयी सुरुवात

ओखलढुङ्गान्युज, असार ५ । शोमबारबाट ओखलढुङ्गामा शुरु भएको कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटवल प्रतियोगितामा धनकुटा जिल्लाले विजयको सुरुवात गरेको छ । आज मंगलबार भएको पहिलो खेलमा भोजपुर जिल्लालाई स्तब्ध बनाउदै धनकुटाले विजयी यात्रा सुरुवात गरेको हो ।

धनकुटा फुटबल टीम

खेलको पहिलो हाफमा धनकुटाको तर्फबाट ३ गोल र भोजपुर जिल्लाको तर्फबाट १ गोल भएको थियो । पहिलो हाफको सुरुवातमा भोजपुरका जर्सी नं. ४ खेलाडी अनिल बस्नेतले पहिलो गोल गरेका थिए । त्यसको लगत्तै १७ औं मिनेटमा धनकुटाको लागि जर्सी नं. ८ का विवेक राईले गोल गर्दै बराबरी गरे । त्यसपछि पहिलो हाफको २७ र ३२ औं मिनेटमा धनकुटाको लागि जर्सी नं.  १४ का कुशुम थुलुङ राईले गोल गर्दै खेलमा ३-१ को अग्रता दिलाएका थिए ।

हाफ टाइम पछिको पहिलो मिनेटमा नै भोजपुरका जर्सी नं. १० का सन्तोष तामाङले गोल गर्दै गोल अन्तरलाई कम गर्दै कमब्याकको प्रयास गरे । तर त्यो धेरै समय टिक्न सकेन । धनकुटाको लागि जर्सी नं. ९ का दिपेन शाक्यले ५७ औं मिनेटमा गोल गर्दै आफ्नो टीमलाई ४-२ को अग्रता दिलाए । ६२ औं मिनेटमा धनकुटाको लागि जर्सी नं. १७ का बिरेन लिम्बुले गोल गर्दै ५-२ को अग्रता दिलाए ।

खेलको दोश्रो हाफको इन्जुरी समयमा भोजपुरका लागि जर्सी नं. १७ का सुजत राईले गोल गरेपनि हारलाई रोक्न सकेनन् । हारसँगै भोजपुर घर फर्किएको छ भने धनकुटाले अगाडीको यात्रा तय गरेको छ । यस प्रतियोगिताको म्यान अफ दि म्याच धनकुटाका कुशुम थुलुङ राई बने । अब धनकुटाले असार ७ गते विहान ८ बजे इलामसँग प्रतिष्पर्धा गर्नेछ ।

म्यान अफ दि म्याच धनकुटाका कुशुम थुलुङ राई

आजको दोश्रो खेल सुनसरी भर्सेस पाँचथरका बिच मध्यान्ह १२ बजेबाट हुदैछ ।