नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गाका आधा दर्जन बढी स्थानमा आगलागी

ओखलढुङ्गान्युज, ११ बैशाख जिल्लाका आधा दर्जन भन्दा बढी स्थानमा आगलागी भैरहेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको सिद्धिचरण नगरपालिका, खिजिदेम्बा गाउँपालिका, मोलुङ गाउँपालिका, चम्पादेवी गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका लगायतका क्षेत्रका आधा दर्जन भन्दा बढी स्थानहरुमा आगलागी भैरहेको हो ।

जिल्लाको सिद्धिचरण नगरपालिकाको वडा नं. २ को चुहानछापको हरबोट सामुदायीक बनमा आगलागी भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आगलागी नियन्त्रणका लागि स्थानीयबासी, प्रहरी तथा दमकल सहितको नगर प्रहरी खटिई रहेको तथा आगो पाखो तथा जंगलमा रहेकोले नियन्त्रणमा लिन नसकिएको बताईएको छ ।

त्यस्तै वडा नं. २ कै नागीडाँडा सामुदायीक वनमा पनि आगालागी भैरहेको र आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सस्शत्र बल नेपाल आश्रीत गुल्म ओखलढुङ्गाको टीम तथा  स्थानीय नागरिकहरुले प्रयास गरिरहेको भएपनि आगलागी नियन्त्रणमा आउन नसकेको तथा आगलागीले तत्काल गाउँवस्ती भेट्नसक्ने सम्भावना भने नरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

उता चम्पादेवी गाउँपालिकाको वडा नं. ६ र ७ को सिमानामा रहेको चनौटे सामुदायीक वन, मोलुङ गाउँपालिका वडा नं. २ रामपुरको तल्लोटार स्थित रानीवन सामुदायीक वनमा पनि मंगलबार मध्यान्ह दिउँसो १२ बजेदेखी आगलागी भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । आगलागी नियन्त्रणका लागि नजिकै रहेको प्रहरी चौकीबाट प्रहरीहरु, सशस्त्र प्रहरीको टीम तथा स्थानीयबासीहरु खटिई रहेका छन् । मोलुङमा लागेको आगलागी नियन्त्रणका लागि भने नेपाली सेनाको टीम दमकल सहित लागिपरिरहेको तथा आगलागी नियन्त्रणमा लिन अझै नसकिएको प्रहरीले जनाएको छ ।

त्यसैगरि मंगलबार दिउँसो साँढे १ बजेदेखी खिजिदेम्बा गाउँपालिका वडा नं. ७ को पेसी भिरमा पनि आगलागी भैरहेको प्रहरीले जनाएको छ । त्यस्तै मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ को झम्कु सामुदायीक वनमा पनि मंगलबार अपरान्ह साँढे ४ बजेबाट आगलागी भैरहेको प्रहरीले जनाएको छ । आगलागी भैरहेको स्थानबाट गाँउवस्ती केहि टाढा रहेकोले तत्काल मानविय तथा पशुचौपायाको क्षति हुन सक्ने सम्भावना कम रहेको र आगो नियन्त्रण गर्न सक्ने सम्भावना समेत कम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानहरुमा गत फागुन महिना देखी नै आगलागी सुरुवात भएर करोडौंको वनजन्य पद्धार्थहरुको नष्ट भएपनि कुनैपनि स्थानमा कसले, किन र के कारणले आगलागी भयो वा गरियो भन्ने बारेमा केहि पहिचान नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।