नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा रोकिएको फुटवल असार ४ देखी हुने

ओखलढुङ्गान्युज, जेठ २५  प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेको पद पूनर्वहाली भएसँगै ओखलढुङ्गामा आयोजना भएर पनि रोकिएको मुख्यमन्त्री कप फुटवल प्रतियोगिता ओखलढुङ्गामा अब सञ्चालन हुने भएको छ । रोकिएको फुटबल प्रतियोगिता आगामी असार ४ गतेदेखि ९ गतेसम्म हुने भएको हो ।

फुटबल खेल सञ्चालन हुने भएपछि निर्माणाधिन मैदान । जुन अहिले निर्माण कार्य सकिएको छ ।

आफ्नो बर्खास्ती सँगै रोकिएको फुटवल प्रतियोगिता असार ४ बाट सञ्चालन गर्ने निर्णय भएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिब वाग्लेले बताए । फुटबल अब तोकिएकै समयमा हुने भएकोले त्यसलाई सफल पार्नका लागि आफुपनि ओखलढुङ्गाबासी भएको नाताले सबै लागि पर्न आग्रह गरे । सदस्यसचिव वाग्लेले भने, ‘म कर्मचारीसँगै स्थानीय पनि हुँ । लामो प्रयत्न पश्चात जिल्लामा बल्लतल्ल प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुन लागेको छ । जिल्लामा सञ्चालन हुने प्रतियोगिता सफलता पूर्वक सम्पन्न हुदा प्रदेश भरि जिल्लाको पहिचानमा थप टेवा पुग्छ । पर्यटन प्रबर्धनमा समेत सहयोग हुने भएकोले हामीले प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न लाग्नु हाम्रो कर्तब्य पनि हो । ’

फुटवल प्रतियोगिता हुने भएपछि जिल्ला खेलकुद विकास समिती ओखलढुङ्गाले जिल्लाको टीम निर्माणको लागि दरखास्त आव्हान गरेको छ । जिल्ला खेलकुद विकास समितिले आव्हान गरेको दरखास्त सूचना अनुसार जिल्लाको फुटबल टीममा सहभागी हुन मंगलबारसम्म ६० जना भन्दा बढीले दरखास्त दिएको जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका सदस्य सचिव बाल कुमार खनालले जानकारी दिए । दरखास्त दिएका खेलाडीहरुका बीचबाट जिल्लाको फुटबल टीम निर्माण हुने भएकोले जिल्ला खेलाडी छनौट प्रकृया आगामी जेठ ३० गतेदेखी सगरमाथा जनता माद्यमिक विद्यालय अगाडीको खेल मैदानमा सञ्चालन हुनेपनि सदस्य सचिव खनालले जानकारी दिए ।

मुख्यमन्त्री कप फुटवल ओखलढुङ्गामा जेठ १ गते देखी सञ्चालन हुने निर्णय भएको थियो । प्रतियोगिता सञ्चालन हुनेभएपछि जिल्ला सदरमुकाममा रहेको खेल मैदानलाई नेपाल फुटबल संघ (एन्फा) को नियमानुसार तयारी गरेको थियो । तिब्र गतिमा निर्माण सुरु भएको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने अनिश्चित भएसँगै मैदान निर्माण कार्यमा समेत सुस्तता छाएको थियो । रोकिएको फुटवल प्रतियोगिता असारमा भएपनि हुनेभएपछि जिल्लाबासीहरुमा उत्साह छाएको छ ।

झापामा आयोजना भएको मुख्यमन्त्री कप भलिवल प्रतियोगिताको व्यानरमा कोशी प्रदेश नलेखिएको भन्दै सामाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारीको प्रस्तावमा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेलाई मन्त्री परिषदको निर्णयले बर्खास्ती गरिएको थियो । आफ्नो बर्खास्ती भएपछि वाग्लेले अदालतमा मुद्धा दर्ता गरेका थिए । वाग्लेले दर्ता गरेको मुद्धाको पक्षमा उच्च अदालत विराटनगरले फैसला गरेपछि वाग्लेको पद जोगिएको थियो ।