नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

श्रीमावि राकाथुममा विद्यार्थीलाई दिवा खाजा ः फरक बार, फरक परिकार

ओखलढुङ्गान्युज, जेठ २४ विद्यालयमा नै खाजाको ब्यबस्था भएपछि रामेछापको खाडादेवी गाउँपालिका वडा नं. १ को श्री माविका विद्यार्थीहरु विद्यालय नियमित आउन थालेका छन् । विद्यालयले पहिला खाजाको सट्टा अविभावकलाई  विद्यार्थी आएको दिनको पैसा दिने गरेकोमा हाल खाजा नै उपलब्ध गराउन थालेको हो ।

नेपाल सरकारले घोषणा गरे अनुसार हाल कक्षा नर्सरी देखी ६ कक्षा सम्मका बालबालिकाहरुलाई विद्यालयले खाजाको ब्यबस्था गरेको छ । विद्यालयले आफ्नो हाता भित्र सञ्चालन गरेको क्यान्टिन मार्फत उनीहरुलाई फरक बार फरक खाजा दिने गरेको छ । फरक फरक दिन फरक फरक खाजा खान पाउदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि दंग रहेका छन् ।

कक्षा १२ सम्म सञ्चालन भएको श्री माविमा कक्षा ६ सम्म ६० जना विद्यार्थीहरु रहेको प्रधानाध्यापक चक्रलाल श्रेष्ठले बताए । उनका अनुसार विद्यालयका ती विद्यार्थीहरुलाई विद्यालयको हाता भित्र सञ्चालनमा रहेको क्यान्टिनसँग एग्रीमेन्ट गरि फरक बार फरक खाजाको ब्यबस्था गरिएको छ । बालबालिकाहरुका लागि सरकारले उपलब्ध गराउने खाजा खर्च बापतको दैनिक रु १५ उपलब्ध गराउदा त्यसको सदुपयोग भएको नपाईएपछि क्यान्टिनवाट खाजाको नै ब्यबस्था गरिएको हो । ं

प्रधानाध्यापक श्रेष्ठका अनुसार क्यान्टिनवाट बालबालिकालाई खाजा वापत आईतबार निम्की, सोमबार पुरी तरकारी, मंगलबार जाउलो, बुधबार अण्डा, विहिबार चना र चिउरा तथा शुक्रबार चाउमिन दिने ब्यबस्था गरिएको छ । विद्यार्थीलाई खाजा दिदा विद्यालयले नेपाल सरकारले तोके अनुसार मात्र रकम भुक्तानी हुने गरि एग्रिमेन्ट गरिएको प्रधानाध्यापक श्रेष्ठले बताए ।

फरक बार फरक खाजा दिनु परेपनि आफुहरु खुशी नै भएको क्यान्टिन सञ्चालक विजय श्रेष्ठ बताउछन् । श्रेष्ठले विगत ३÷४ वर्ष अगाडी देखी नै विद्यालयमा क्यान्टिन सञ्चालन गर्दै आएका छन् । खाजाको परिकार अनुसार मूल्य भने कम भएको उनको थोरै गुनासो छ । विद्यालयले सरकारले विद्यार्थीको खाजा खर्च बढाएमा सोहि रकम उपलब्ध गराउने गरि एग्रिमेन्ट गरेको भएपनि सरकारले यसपटक पनि खाजा वापतको रकम नबढाएको उनको गुनासो हो ।

क्यान्टिनका सञ्चालक श्रेष्ठले भने, ‘पहिले र अहिलेको तुलनामा महंगी धेरै उचाईमा बढी सक्यो । ८ देखी ९ रुपैयामा पाईने काचो अण्डाको मूल्य नै अहिले प्रतिगोटा १४ रुपैया भन्दा बढी छ । अरुको त कुरै नगरौं । सामान महंगो हुदै गको छ । थोरै ढुवानी, पकाको र आफूले काम गरेको ज्याला मूल्य राख्दा त आजकाल १५ रुरपैयामा त खाजा के पो आउछ र ? तरपनि आफ्नै नानीबाबुहरु हुन् भनेर सेवाको भावनाले पनि काम गरिराखेको हो ।’

श्री मावि रामेछाप जिल्लाको नमूना मावि पनि हो । विद्यालयमा विद्यालय नर्स कार्यक्रम पनि लागू भएको छ । बालिबालिकाहरुलाई खुवाईएको खाजा देखी उनीहरुको स्वास्थ्यको बारेमा पनि चेकजाँच गर्न र स्वस्थ्य जिवनशैली सञ्चालन बारेमा बालबालिकाहरुलाई सिकाउन स्टाफ नर्स नविना हायू तल्लिन भेटिन्छिन् । उनी आफ्नो ड्यूटीको अलावा बालबालिकाहरुको खाली समयमा स्वास्थ्य सम्बन्धि पाठ समेत पढाउछिन् । हायूको निगरानीले बालबालिका पनि सचेत छन् । विद्यालय क्षेत्रमा जंकफुडको प्रयोगमा न्यूनिकरण गर्दै बालबालिकाहरुलाई नियमित रुपमा अग्र्यानिक खाजा दिन सके बालबालिकाको शारिरिक बृद्धि विकास सँगै पढाईमा समेत राम्रो विकास हुने हायू बताउछिन् ।