नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

कल्पनाको खुशी, ‘म पनि कार्यबाहक वडा अध्यक्ष बने’

ओखलढुङ्गान्युज, जेठ १६ उनी कल्पना वि.क. । घर चिशंखुगढी गाउँपालिका वडा नं. १ को कुईभिर । उनी आजकाल घरमा हैन गाउँ समाजको भेला, बैठक, छलफल तिर व्यस्त भेटिन्छिन् । अहिले कल्पना वि.क. मात्र हैन । कुईभिरवाट स्थानीय तह निर्वाचन २०७९ मा चुनाव जितेर आएकी महिला जनप्रतिनिधी पनि हुन् ।

गाउँघर कै समाज हो । जति परिवर्तनको कुरा गरेपनि दलित समुदायका मानिसहरुलाई अझै हेय कै दृष्टिकोणले हेर्ने चलन छ । समाजले हेपेर नै राख्ने प्रयास गर्छ । समाजमा कहि कतै केहि बोलीहाल्यो भनेपनि नाख खुम्च्याउछन् । अनि त समाजमा हुने गरेका छलफल, बैठकमा आफुले जानेको कुरा केहि बोल्यो भनेपनि फल्ना धेरै जान्ने भई भनेर कुरा काट्नेहरुको जमात कम छैन । त्यसैले पनि जानेकै कुरापनि नजानेको झै, नबुझे पनि बुझे झै बस्नुपर्ने बाध्यता अझै पनि छ ।

हो यस्तै समुदायको प्रतिनिधी मूलक पात्र हुन् कल्पना । १० वर्षे शशस्त्र द्वन्द्वको समयमा प्रभावित साविकको गाविस हो कुईभिर । माओवादी प्रभावित क्षेत्रका कारण केहि मात्रामा भएपनि दलितलाई छुवाछुत गर्ने परिपाटी कम नै छ त्यहाँ । त्यसैले पनि कल्पना हालको चिशंखुगढी गाउँपालिका वडा नं. १ कुईभिरका आमा समूहको बैठक तथा छलफलमा सहभागी हुन्थिन् । हालका गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, वडा अध्यक्ष उषक कटवाल लगायतका गाँउका अगुवाहरुले स्थानीय कृषि सहकारीको सदस्य समेत बनाईदिए ।

वडा सदस्य पदमा निर्वाचित हुनु अगाडी गाँउपालिकाका अध्यक्षहरुले नै कहिले उपभोक्ता समितिमा राखिदिए । कहिले सहकारीको सदस्य बनाईदिए । तर कल्पनालाई कुरो मिलाएर बोल्न सँधै अप्ठ्यारो । आफ्नो श्रीमान् बैदेशिक रोजगारमा रहेकोले अरुले कुरा काट्लान भन्ने पनि डर । बालबच्चाहरुलाई ख्याल पनि गर्नुपर्यो । खेतीपाती पनि ध्यान दिनै पर्यो । आफूलाई मिलाएर धेरै बोल्न पनि नआउने र घरपरिवारलाई पनि समय दिईरहनुपर्दा कल्पनालाई अप्ठ्यारो भयो ।

तर उनी २०७९ सालमा भएको स्थानीय तहको दोश्रो निर्वाचनमा महिला सदस्य पदमा निर्वाचित भईन् । नजानेर पनि बोल्नै पर्ने । नभ्याएर पनि पुग्नै पर्ने । घरपरिवारलाई पनि समय दिनै पर्यो । यस्तै वखतमा उनका श्रीमान् पनि बैदेशिक रोजगारबाट घर आए । अझै पनि हाम्रो समाज पितृसतात्मक छ । पुरुषलाई जहाँ जान पनि छुट छ । महिलाका लागि भने अझै गाह«ो । निर्वाचित जनप्रतिनिधी भएपछि समाजको काममा त जानै पर्यो । जादा पनि श्रीमान्सँग डराई डराई जानुपर्ने ।

यस्तै क्रममा चिशंखुगढी गाउँपालिकामा पनि लागू भएको दलित महिला केन्द्र नेपाल संस्थाद्वारा सञ्चालित शि लिड्स परियोजनाको महिला नेतृत्व कार्यक्रमले सञ्चालन गरेको क्षमता विकास तालिममा सहभागी हुने अबसर पाईन् । तालिममा सहभागी भएपछि समूहमा गएर आफ्नो विचार राख्ने र निर्णय दिने कुरामा उनको जिवनले कोल्टो फे¥यो । आत्मविश्वास बढ्यो । वडा अध्यक्षले पनि नियमित सहयोग गरे । श्रीमानसँग पनि कल्पनाले समाजलाई समय दिनुपर्ने विषयमा वडा अध्यक्षले कुरा गरिदिए । श्रीमान पनि सकारात्मक नै थिए ।

परियोजनाले तालिम दिएपछि समाजको हरेक कार्यक्रममा गएर आफ्ना कुरा तथा सुझाब राख्न कल्पनालाई सजिलो भएको छ । परियोजनाले श्रीमानलाई समेत राखेर तालिम दिएपछि कल्पनालाई कुनै भेला, बैठकमा छलफलमा जानका लागि श्रीमानले रोकतोक गर्दैनन । पहिलेको भन्दा अझ सक्रिय भएर उनी समाजका लागि समय दिन्छिन । श्रीमानले पनि बैठक, भेला, छलफलमा जान र आफ्ना कुरा राख्न कल्पनालाई प्रोत्साहन गर्छन् ।

कल्पनाले हाल आफ्नै गतिबिधि मार्फत समाज परिवर्तनका लागि टेवा पु¥याएकी छिन् । उनको कृयाकलापमा विश्वास लागेर वडा अध्यक्ष कटवालले पनि कहिलेकाँही कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिन्छन् । त्यो बेला उनको खुशी नै बेग्लै हुन्छ । हिजोसम्म कल्पनाको बारेमा बाहिर कुरा काट्नेहरु नै आजभोली कल्पनाको प्रशंसा गर्छन । कल्पनासँग निर्धक्क भएर आफ्ना कुरा राख्छन । विकास निर्माणका कुरा काट्छन ।

कल्पना भन्छिन, ‘दलित महिला केन्द्र नेपालले तालिम नदिएको भएपनि यतिको परिवर्तन आफुमा हुने थिएन । अझै संस्थाले सञ्चालन गरेको परियोजनाबाट थप तालिम पाए समाजमा दलित महिला भएर पनि समाजका लागि केही गर्न सक्छन् है भन्ने नमूना पात्र बन्ने थिए ।’