नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा कक्षा १२ को परीक्षा ः विद्यार्थीलाई मोबाईलबाट सारीक्षा !

ओखलढुङ्गान्युज, जेठ २ । अहिले ओखलढुङ्गा लगायत देशै भर कक्षा १२ को परीक्षा सञ्चालन भै रहेको छ । ओखलढुङ्गा जिल्लामा पनि ९ वटा परीक्षा केन्द्रबाट २ हजार ४ सय २ जना विद्यार्थीहरुले परीक्षा दिई रहेका छन् ।

परीक्षा अन्तर्गत जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता माद्यमिक विद्यालयको परीक्षा सेन्टरमा पनि विद्यार्थीहरुले परीक्षा दिई रहेका छन् । यस केन्द्रमा सदरमुकाम आसपासका ५ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी भैरहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड मार्फत सञ्चालन भैरहेको परीक्षाको परीक्षा हलमा भने विद्यार्थीहरु मोबाईल वा चिटिङ मार्फत उत्तर पुस्तिकामा सार्न ब्यस्त भेटिन्छन् । विद्यालयका शिक्षकहरुलाई पनि बाहिरबाट परीक्षाको उत्तर भित्र पठाउन भ्याईनभ्याई भैरहेको देखिन्छ । जुन कुरा विद्यार्थीहरु परीक्षा हलवाट बाहिर निस्किए पछि आफै बताउछन् ।

परीक्षा हलमा जे भएपनि बाहिर भने परीक्षालाई मर्यादित बनाउन सक्दो प्रयास गरेको परीक्षाका पर्यवेक्षक खिलराज श्रेष्ठ बताउछन् । परीक्षाको पहिलो दिन परीक्षा हलमा विद्यार्थीहरुले मोबाईलको प्रयोग गरि उत्तर सारेको पाईएपछि दोश्रो दिनवाट मोबाईल भित्र लैजान चेकजाँचमा कडाई गरिएको श्रेष्ठको भनाई छ । तर बाहिर गेटमा चेकजाँच गरिएपनि परीक्षा हलमा भने मोबाईलको प्रयोग भैरहेको छ ।

परीक्षा हलमा भने मोबाईलको प्रयोग भएको भैरहेको छ नि भन्ने प्रश्नमा पर्यबेक्षक श्रेष्ठ भन्छन्, ‘बाहिर निकालिएको मोबाईललाई गार्डमा बस्नु भएका सरहरु मार्फत नै भित्र ल्याएको पाईयो । उहाँहरुले पनि आफ्नो ईमादारिताको ख्याल गर्नुपर्ने हो ।’ विद्यालयमा सञ्चालन भैरहेको परीक्षाको अबलोकनका लागि कुनै पनि अनुगमन कर्ताहरुलाई परीक्षा हलमा प्रबेश गर्न कडाई गरिएको छ । परीक्षाको तयारीका क्रममा अबलोकन बाहेक अनुगमनका लागि कक्षा कोठामा पत्रकारहरुलाई पनि प्रबेश गर्न निषेध गरिएको छ ।

सगरमाथा जनता माद्यमिक विद्यालयका प्रधानाध्यापक एवम् केन्द्राध्यक्ष डिल्लीराम कार्कीले परीक्षा केन्द्रमा पत्रकारहरुलाई समेत अबलोकन गर्न नदिन माथिको निर्देशन भएको बताएका थिए । लाग्थ्यो उनी पनि कसैलाई चिटिङ गराउन ब्यस्त छन् । केन्द्राध्यक्ष भएर परीक्षालाई मर्यादित रुपमा सञ्चालन गराउनु पर्नेमा जोड दिईरहेका कार्कीले नै मोबाईल भित्र बाहिर गराउन सहजिकरण गरिरहेको झै भान हुन्थ्यो ।

परीक्षाका पर्यबेक्षक श्रेष्ठले विद्यार्थीहरुले चिटिङ गर्नु सामान्य कुरा भएको बताउदै गेस पेपर अगाडी राखेर वा मोबाईलको नै प्रयोग गरेर सार्नु चाहि गलत नै भएको बताए । यस्तो समस्या ओखलढुङ्गाका सबै केन्द्रमा रहेको उनले बताए । जिल्लाको ९ केन्द्र मार्फत परीक्षा सञ्चालन भैरहेकोले सबै परीक्षा केन्द्रहरुमा समान रुपमा परीक्षा सञ्चालन भए विद्यार्थीहरु परीक्षाको समयमा मोबाईल वा गेस पेपरबाट चिटिङ गरेर पास गर्ने भन्ने मानसिकताबाट मुक्त हुने श्रेष्ठको भनाई छ ।

आफ्नो परीक्षा केन्द्रमा अरु विद्यालयका विद्यार्थीहरुलाई कडाई गर्दा आफ्ना विद्यार्थीहरुलाई समेत कडाई हुने, विद्यार्थी फेल भएर त्यसलाई निरन्तरता पायो भने विद्यालयमा विद्यार्थी पढ्न नआउने समस्या हुने भएकोले परीक्षामा अनुगमन गर्न आउनेलाई समेत बाधा गरेको हुन सक्ने जानकारहरु बताउछन् । गाउँमा निजी श्रोतवाट सञ्चालन गरिएको प्लस टू मा थोरै विद्यार्थी हुने, उनीहरु नियमित विद्यालयमा अध्ययनका लागि समेत नआउने समस्या छ । उनीहरु पास नभए आगामी शैक्षिक सत्रमा विद्यार्थी भर्ना नै शुन्य हुन सक्ने भएकोले परीक्षामा शिक्षक आफै गएर चिटिङ गराउनु पर्ने बाध्यतामा परेको एक शिक्षकले बताए ।

अहिले कक्षा १२ को परीक्षामा ओखलढुङ्गामा प्राविधिक धार तर्फ कृषि ज्ञान केन्द्रका हाकिम देखी स्थानीय सरकारका कृषि शाखाका स्थायी कर्मचारीहरु समेत सहभागी भैरहेका छन् । स्थायी कर्मचारीहरुलाई उच्च अंक भन्दा पनि १२ पास गरेको सर्टिफिकेट आवश्यक परेकोले परीक्षा सञ्चालनमा केही समन्वय भएको हुन सक्ने एक शिक्षक बताउछन् ।

परीक्षाको अनुगमन तथा सञ्चालन राष्ट्रिय परीक्षा बोर्ड लाहान शाखाले गरिरहेको छ । जिल्लामा भने शिक्षा विकास तथा समन्वय ईकाईसँगको समन्वयमा परीक्षा सञ्चालनमा भैरहेको छ । आफुहरुले समन्वय गरेर ९ परीक्षा केन्द्रका लागि १० जना पर्यवेक्षक नियुक्ती गरेर पठाएको शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गाका परीक्षा शाखा प्रमुख प्रमुख विष्णु प्रसाद कडेलले बताए । परीक्षा मर्यादित रुपमा सञ्चालन गर्नु केन्द्राध्यक्षको काम भएकोले परीक्षा मर्यादित रुपमा सञ्चालन नभएको पाईएमा केन्द्राध्यक्षहरुलाई नै कानून अनुसार कार्बाही हुन सक्ने परीक्षा शाखा प्रमुख कडेल बताउछन् ।