नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

सुनकोशी प्रथम अध्यक्ष कप फुटबलको उपाधी मानेभञ्ज्याङ्गलाई

ओखलढुङ्गान्युज, बैशाख २३ । जिल्लाको सुनकोशी गाउँपालिकामा सम्पन्न भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी मानेभञ्ज्याङ्ग स्पोर्टस क्लबले जितेको छ । शुक्रबार सम्पन्न भएको फाईनल खेलमा सुनकोशी ९ को फुटवल टिमलाई पराजित गर्दै प्रथम अध्यक्ष कपको उपाधी जितेको हो ।

निर्धारित ६० मिनेटको समयमा दुवै तर्फवाट १–१ गोलको बराबरी भएपछि निर्णायकले खेललाई पेनाल्टी सुटआउटका  आधारमा निर्णय हुने फैसला गरेका थिए । पेनाल्टी सुटआउट प्रहार गर्नेक्रममा मानेभञ्ज्याङ्ग स्पोर्टस क्लब ३–२ गोलले विजयी भएको हो । मानेभञ्ज्याङ्ग विजेता हुदै नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र जितेको छ ।

त्यस्तै उपविजेता बनेको सुनकोशी ९ फुटबल टिमले पनि नगद रु. ५० हजार सहित मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै प्रतियोगितामा रोयल बलखु फुटबल टीमलाई १–० गोलमा पराजित गर्दै ज्वालामुखी फुटबल क्लब हर्कपुर तेश्रो बनेको छ । तेश्रो बनेको ज्वालामुखीले नगद रु ३० हजार सहित मेडल र प्रमाणपत्र पाएको छ ।

फुटबल प्रतियोगितामा विधागत तर्फ समेत उत्कृष्ट हुनेहरुलाई नगद र मेडल प्रदान गरिएको थियो । विधागत तर्फ उत्कृष्ट किपर मानेभञ्ज्याङ्ग स्पोर्टस क्लबका रेवत मगर बने । त्यस्तै प्रतियोगिता अबधीभरको उत्कृष्ट खेलाडीको ट्रफी सुनकोशी ९ का अमृत तमुले पाए । हाई स्कोररको ट्रफी पनि प्रतियोगिता अबधीभर ७ गोल गर्ने सुनकोशी ९ का रञ्जन पुनले पाएका थिए । उनीहरुलाई पनि प्रमुख अतिथि र अतिथिहरुले नगद रु ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य, ओखलढुङ्गाबाट निर्वाचित माननिय सांसद प्रदिप कुमार सुनुवार तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताको समापनको अबसर पारेर सुनकोशी गाउँपालिकाले सुनकोशी गाउँपालिकामा जन्मुभूमि रहेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलक्षेत्रमा सहभागी भएका खेलाडी तथा प्रशिक्षकहरुलाई समेत नगद र दोसल्लाले सम्मान गरेका थिए ।