नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

सुनकोशी गाउँपालिका प्रथम अध्यक्षकपको फाईनलमा मानेभञ्ज्याङ्ग एसएफसी र सुनकोशी ९ भिड्ने

ओखलढुङ्गान्युज, बैशाख २१ जिल्लाको सुनकोशी गाउँपालिकामा जारि रहेको सुनकोशी गाउँपालिका प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधीकालागि मानेभञ्ज्याङ्ग स्पोर्टस फुटबल क्लब (मानेभञ्ज्याङ्ग एसएफसी) र सुनकोशी ९ फुटबल क्लब भिड्ने भएका छन् ।

बैशाख १९ गते देखी जारि रहेको फुटबल प्रतियोगिता अन्तर्गत आज (विहिबार) भएको सेमिफाईनल खेलमा मानेभञ्ज्याङ्ग एसएफसीले ज्वालामुखी युवा क्लब हर्कपुरलाई र सुनकोशी ९ ले रोयल बलखु फुटबल क्लबलाई हराउदै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

फुटबल प्रतियोगिता अन्तर्गत तेश्रो स्थानका लागि हुने फाईनल खेल २२ गते शुक्रबार विहान ७ बजे र प्रथम स्थानका लागि हुने खेल विहान ९ बजेवाट सञ्चालन हुने आयोजकले जनाएको छ । दुवै फाईनल खेल सुनकोशी गाउँपालिका वडा नं. ५ मूलखर्कको खेल मैदानमा सञ्चालन हुने सुनकोशी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो स्थान प्राप्त गर्ने टिमले नगद रु. ५० हजार सहित मेडल र प्रमाणपत्र तथा तेश्रो स्थान प्राप्त गर्ने टिमले नगद रु ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै प्रथम अध्यक्षकप खेलकुद प्रतियोगिता अन्तर्गत सञ्चालन भैरहेको ब्याडमिन्टन तर्फको तीन ओटै विधाको फाईनल खेल पनि शुक्रबार विहान ९ बजेवाट सञ्चालन हुने आयोजकले जनाएको छ ।

ब्याडमिन्टन तर्फ विजेता हुने टिम ए तथा भेट्रान्स तर्फका खेलाडीहरुले क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै टिम वि तर्फका विजेताहरुले क्रमशः नगद रु. ४० हजार, ३० हजार र २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।