नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सुनकोशी गाँउपालिका प्रथम अध्यक्ष कप खेलकुद बैशाख १९ देखी

ओखलढुङ्गान्युज, बैशाख १२ । जिल्लाको सुनकोशी गाँउपालिकामा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । बुद्ध जयन्तीको अबसर पारेर आगामी बैशाख १९ गते देखी २२ गते सम्म गाँउपालिकाले प्रथम अध्यक्ष खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

गाँउपालिकाको तर्फवाट आज जिल्ला सदरमुकाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष कमल तामाङले आगामी बैशाख १९ देखी ४ दिनसम्म प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । प्रतियोगीतामा दुई विधालाई मात्र समाबेश गरिएको छ । जसमा ब्याडमिन्टन र सेभेन ए साईड फुटबल प्रतियोगिता हुनेछ । 

प्रतियोगिता अन्तर्गत अध्यक्ष कप सेभेन ए साईड खुल्ला पुरुष फुटबल सुनकोशी गाउँपालिका ५ स्थित मुलखर्कको नवनिर्मित खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद रु १ लाख, ५० हजार, ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम हुने टीमलाई भने शील्डको पनि व्यबस्था गरिएको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत व्याडमिन्टनमा सहभागी हुने खेलाडीलाई तिन भागमा विभाजन गरिएको छ । जसमध्ये खुल्ला ए लेबल पुरुष डबल ब्याडमिटन्टको प्रथम, द्वितिय र तृतिय विजेता खेलाडीहरुले क्रमश नगद रु ५० हजार, ३० हजार, २० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै ब्याडमिन्टनकै बी लेबल तर्फ प्रथम, द्वितिय र तृतिय विजेता खेलाडीहरुले क्रमश नगद रु. ४० हजार, ३० हजार, २० हजार तथा भेट्रान्स (४५ वर्ष माथिका) तर्फका प्रथम, द्वितिय र तृतिय विजेता खेलाडीहरुलाई क्रमश नगद रु. ५० हजार, ३० हजार, २० हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका अध्यक्ष तामाङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष तामाङले खेल क्षेत्रको विकास संगै प्रतियोगिता भब्य र सभ्य बनाउन सरोकारवाला सबैलाई आवश्यक सहयोग गरिदिन आग्रह गरे । प्रतियोगिता सञ्चालनका लागि मुलखर्कमा फुटबल ग्राउण्ड तयार भैसकेको र ब्याडमिन्टनका लागि २८ लाखको लागतमा कभर्ड हलको समेत निर्माण सम्पन्न भैसकेको अध्यक्ष तामाङले बताए । खेलाडीहरुको प्रोत्साहनका लागि गाउँपालिका भित्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा खेल खेलेको खेलाडीहरुलाई सम्मान समेत गरिने अध्यक्ष तामाङले बताए ।

प्रतियोगिता बैशाख १९ गतेदेखी फुटवल र २० गते देखी ब्याडमिन्टन सञ्चालन हुनेछ । दुवै प्रतियोगिताको उद्घाटन भने बैशाख १९ गते नै हुनेछ ।