नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लगनपछिको पोते ः लिखुमा राष्ट्रपति रनिङ शिल्डको उपाधि जाल्पा मावि टारलाई

ओखलढुङ्गान्युज, बैशाख ११ । लिखु गाउँपालिकामा आयोजना भएको चौथो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०७९ को उपाधी जाल्पा मावि टारकेरावारीले जितेको छ । जाल्पा माविले लिखु गाउँपालिकामा हालसम्म आयोजना भएको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधी जित्दै चारैपटक रनिङशिल्ड जित्ने एकमात्र विद्यालय बनेको छ ।

जाल्पा माविले १५ स्वर्ण, २ रजत र ११ कास्य पदक सहित २८ पदकका साथ प्रथम भएको हो । त्यस्तै ११ स्वर्ण, ४ रजत र २ कास्य सहित १७ पदक जितेर यसम माध्यमिक विद्यालय दोश्रो भएको छ । उता ५ स्वर्ण, २ रजत र २० कास्य पदक सहित २७ पदक जितेर ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङ्टार तेश्रो भएको भएको छ । लिखु गाउँपालिकामा ९ वडामा ८ माद्यमिक विद्यालय भएपनि ७ माद्यमिक विद्यालयले मात्र प्रतियोगितामा सहभागीता जनाएका थिए ।

ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङ्टारको खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताका विजेता खेलाडी विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता बैशाख ७ गते देखी ९ गते सम्म सञ्चालन भएको थियो ।

लगनपछिको पोते राष्ट्रपति रनिङशिल्ड

लिखु गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता लगनपछिको पोते झै भएको छ । बैशाख ११ गते देखि सुनसरी जिल्लाको ईटहरीमा प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डको खेल सम्पन्न पश्चात गत २०७९ चैत २९ देखी २०८० बैशाख १ सम्म जिल्लामा जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेल सञ्चालन भएको थियो । लाखौं खर्च गरेर पालिकामा प्रतियोगिताको आयोजना गरेपनि पालिकामा उत्कृष्ट भएका नवउत्पादित विद्यार्थी खेलाडीहरुले जिल्ला छनौट तथा प्रदेशमा खेल्ने अबसर पालिकाले बञ्चित गराएको हो ।

यसपटक केहि प्राबिधीक समस्याका कारण पालिकामा राष्ट्रपति रनिङशिल्ड खेलकुद सञ्चालन गर्न ढिलाई भएको गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले बताए । आगामी आर्थिक वर्षदेखी भने गाउँपालिकाले थप बजेटको विनियोजन गरेर पालिकामा समयमा नै प्रतियोगिता सञ्चालन गराउने गाउँपालिका अध्यक्ष कार्कीले प्रतिबद्धता जनाए । पालिकामा प्रतियोगिता सञ्चालनमा ढिलाई हुदा गाउँपालिकाका विद्यालयका खेलाडीहरुले जिल्ला र प्रदेश स्तरिय प्रतियोगितामा सहभागि हुन पाएनन् ।