नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

राष्ट्रपति रनिङ शिल्ड २०७९ को उपाधी सिद्धिचरण नगपालिकालाई

ओखलढुङ्गान्युज, बैशाख शुक्रबार सम्पन्न ओखलढुङ्गाको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सिद्धिचरण नगरपालिकाले जितेको छ । पाँचओटा पालिका सहभागी भएको प्रतियोगितामा कूल ६४ पदक सहित सिद्धिचरण नगरपालिका प्रथम भएको हो ।

सिद्धिचरण नगरपालिकाले ३८ स्वर्ण, २१ रजत र ५ कास्य सहित कूल ६४ पदक प्राप्त गरेको थियो । त्यस्तै २४ स्वर्ण, ५ रजत र २६ कास्य सहित ५५ पदकका साथ दोश्रो भएको छ । ९ स्वर्ण, १८ रजत २९ कास्य सहित ५६ पदकका साथ तेश्रो भएको छ । मोलुङले पनि ३ स्वर्ण, ३० रजत र १३ कास्य सहित कूल ४६ पदकका साथ चौथो भएको छ । उता एथलेटिक्समा मात्र सहभागिता जनाएको चम्पादेवी गाउँपालिकाले भने कुनै पनि पदक हासिल गर्न सकेन ।

विजेता बनेका खेलाडी तथा विद्यालयहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनाल तथा अन्य अतिथिहरुले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

जिल्लामा ८ ओटा स्थानीय तहहरु मध्ये जिल्लामा पालिका स्तरीय ६ वटा पालिकाहरुले मात्र पालिकामा विद्यालय स्तरीय प्रतियोगिता सञ्चालन गरेका थिए । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न हुदा सम्म लिखु गाउँपालिका र चिशंखुगढी गाउँपालिको भने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ सञ्चालन गरेनन् । विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरेका ६ पालिका मध्ये चम्पादेवी र खिजिदेम्बा गाउँपालिकाले भने औपचारीक रुपमा जिल्ला स्तरिय प्रतियोगितामा विद्यार्थी खेलाडीहरुलाई सहभागीता गराएनन् ।

खिजिदेम्बा गाउँपालिकाले पसी शेर्पा कप भलिबलमा तथा चम्पादेवी गाउँपालिकाले प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगितामा लाखौ खर्च गरेर खेलकुद क्षेत्रमा लाखौ लगानी गर्ने गफ दिएको थियो । तर तिनै पालिकाले विद्यालय स्तरवाट गाउँपालिकामा उत्पादन भएका नयाँ खेलाडी पहिचानलाई रोकेर अन्याय गरेको छ । चिशंखुगढी गाउँपालिकाले समय अभाव जनाउदै खेल नै सञ्चालन गरेन भने लिखु गाउँपालिकाले आँखामा छारो हालेर झारो टार्ने गरी बैशाख ७ देखी ९ सम्म राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना तयारी गरेको छ ।

प्रतियोगितामा सहभागीता जनाएका पालिकाहरुले पनि (सिद्धिचरण नगरपालिका बाहेक) पूर्व तयारी विना नै विद्यार्थी खेलाडीहरुलाई सहभागिता गराएका थिए । प्रतियोगितामा विद्यार्थीहरुको सहभागीता, उनीहरुलाई खानपान तथा बासको ब्यबस्था, जर्सीको ब्यबस्थामा अस्तव्यस्तताका बाबजुद पदि खेल सञ्चालन सम्पन्न भएको छ । कतिपय पालिकाहरुले जिल्ला स्तरीय प्रतियोगिता सञ्चालनका लागि उपयुक्त समय नभएको बताएका छन् भने प्रतियोगितामा विद्यार्थी सहभागीता गराउनका लागि आर्थिक समस्याका थप समस्या भएको बताएका छन् ।

विद्यालयको खेलकुद क्षेत्रमा लगानी गर्छौ भनेर ठूलाठूला गफ गरेपनि विद्यार्थीको क्षमता पहिचानको समयमा भने आर्थिकलाई जोडेर विद्यार्थी खेलाडी सहभागी नगराउनु युवा विद्यार्थी खेलाडीहरुप्रति अन्याय भएको सरोकारवालाहरुले बताएका छन् । आगामी दिनमा युवा विद्यार्थी खेलाडीहरुलाई प्रतियोगितामा सहभागीता गराएर उनीहरुको क्षमता पहिचानका लागि समयमा नै गाउँपालिकाहरुले पनि विचार गर्नुपर्ने उनीहरुको धारणा रहेको छ ।