नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

ओखलढुङ्गामा मुख्यमन्त्रीलाई कालो झण्डा

ओखलढुङ्गान्युज चैत, ओखलढुङ्गा आफ्नो प्रदेशको नाम कोशी राखेको विरोधमा ओखलढुङ्गामा मुख्य मन्त्री हिक्मत कार्कीलाई कालो झण्डा देखाईएको छ । कोशी नामांकरणको विरोधमा आन्दोलन गर्दै आएका विभिन्न आन्दोलनकारीहरुको समूहले कार्कीलाई ओखलढुङ्गामा विरोध स्वरुप कालो झण्डा देखाएका हुन् ।

आन्दोलनकारीहरुले मंगलबार विहान जिल्ला सदरमुकामको विभिन्न क्षेत्रको कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा सहभागी हुने क्रममा सिद्धिचरण नगरपालिका वडा नं. १ तलुवाको एक सामुदायीक भवन उद्घाटन गर्न जानेक्रममा सदरमुकाम स्थित मिलनचोकमा आन्दोलनकारीहरुले कालो झण्डा देखाएका हुन् ।

आन्दोलनकारीहरुले मुख्यमन्त्री सवार रहेको गाडीलाई अबरोध गर्नुका साथै तोडफोडको समेत प्रयास गरेका थिए । सवारी गाडीलाई तोडफोडको प्रयास गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीहरुलाई हटाउदै बाटो खाली गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकरी दिए । आन्दोलनकारीहरुले मुख्यमन्त्री सवार गाडी तथा कार्यक्रमहरुमा अबरोध सृजना गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यबस्थालाई जिल्लामा कडा पारेको छ ।

प्रदेशको नाम पहिचानका आधारमा नराखिएको विरोधमा कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिले पनि आन्दोलकारीहरुले आन्दोलन गरिरहेका छन । आन्दोलनका क्रममा ओखलढुङ्गाका आन्दोलनकारीहरुले पनि शोमबार साँझपख जिल्ला सदरमुकामको रमाईलोडाँडामा टायर बालेर सडक अबरुद्ध पारेका थिए । आन्दोलनको नेतृत्व ओखलढुङ्गामा आदिवासी जनजाती महासंघले गर्दै आएको छ ।

ओखलढुङ्गा जिल्लामा करीब एक दर्जन भन्दा बढी मन्दीर, भवन, सडकहरुको सिलान्यास, अनुगमन तथा उद्घाटन गर्नका लागि मुख्यमन्त्री कार्की अहिले ओखलढुङ्गामा छन् । आईतबार साँझ ओखलढुङ्गामा आईपुगेका मुख्यमन्त्री कार्की आज (मंगलबार) पनि विभिन्न कार्यक्रममा व्यस्त छन् । मुख्यमन्त्री ओखलढुङ्गा आएको थाहापाएपछि प्रदेश नामांकरण विरोधी आन्दोलनकारीहरुले आफ्नो आन्दोलनको रुपलाई ओखलढुङ्गामा पनि बढाएका हुन् ।