नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

ओखलढुङ्गामा आगलागीमा परी आमाछोराको मृत्यु

ओखलढुङ्गान्युज, २४ बैशाख । सामुदायिक वनबाट सल्किएको आगोबाट काटी राखेको खर जोगाउने क्रममा ओखलढुङ्गामा दुइजनाको मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीमा काटेर थुपारी राखेको खर घाँसमा आगलागी हुनथालेपछि जोगाउन खोज्दा आगोको मुस्लोका परि आमा छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. १० बेतीनीका रेवती धमलाको ५५ बर्षिया श्रीमती पुन्यमाया धमला र उनका १६ बर्षको छोरा कञ्चन धमला रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

आइतबार अपरान्ह ५ बजेतिरबाट वेतीनीको बसाहा हरिबोले सामुदायीक वनबाट आगलागी सुरु भएको थियो । आगलागी सुरु भएपछि आइतबार साँझसम्म प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण प्रयास भएपनि सफल भएको थिएन । शोमबार विहान आगलागी कम भएपछि नियन्त्रणमा आउने अनुमान भएको थियो । तर मध्यान्ह सँगै हावा चलेपछि आगलागी फैलिएको थियो । आगलागी फैलिएपछि सोमबार दिउँसो १ बजेतिर प्रहरी, सशस्त्र प्रहरीबल नेपाल आश्रीत गुल्म ओखलढुङ्गाको टोली आगलागी नियन्त्रणका लागि बेतिनी पुगेको थियो ।

आगलागी बढ्दै गएर बेतिनीको बाहुनडाँडा बस्ने रेवती धमलाको खरबारीमा समेत आगो लागेको थियो । उक्त आगोबाट धमलाको खरबारीमा काटेर राखेको खरलाई जोगाउने क्रममा धमलाको श्रीमती र छोरा आगोको ज्वालामा परी घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।