नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सडक पुल बनाउन माग गर्दै सिन्धुलीको फिक्कलमा ३ घण्टा चक्काजाम

ओखलढुङ्गान्युज । ३ चैत, सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाका स्थानीय नागरिकहरुले आज विहान ३ घण्टा चक्काजाम गरेका छन् । मध्यपहाडी राजमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका वडा नंं ६ स्थित सोखु खोलाको पक्की पुल छिटो निर्माण गर्न दबाब दिँदै स्थानीयले चक्काजाम गरेका हुन् ।

उनीहरुले शुक्रबार (आज) बिहान ८ बजेदेखि ११ बजे सम्म चक्काजाम गरेका हुन् । स्थानीय सोखु खोलाको निर्माणाधीन पुल लामो समय वितिसक्दा पनि निर्माण कार्य सम्पन्न गराउन सरोकारवालाले चासो नदेखाएको भन्दै चक्काजाम जाम गरेर विरोध प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

फिक्कल गाउँपालिका वडा नं ६ सोखु खोलामा पक्की पुलको ठेक्का लागेको १० वर्ष बित्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । पुल बनाउने ठेक्का शुरुमा ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनले पाएको थियो । पप्पुले निर्माण अलपत्र पारेपछि पप्पुसँगको ठेक्का तोडेर लोहनी आत्रेय जेभी कम्पनीलाई ठेक्का सम्झौता गरेको थियो । तर लोहनी आत्रेय जेभीले पनि ठेक्का लिएको तीनवर्ष बित्न लाग्दा समेत काम सम्पन्न नगरेपछि स्थानीयले दबाब स्वरुप तीनघण्टा चक्का जाम गरेको स्थानीय माधव पौडेलले बताए । 

मध्यपहाडी राजमार्गमा पर्ने यो सडकबाट हाल सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर र उदयपुरका माथिल्लो भेगका यात्रुहरु राजधानी काठमाडौं आवतजावत गर्छन् । यदि सम्बन्धित निकायले ठेकेदारलाई तत्काल काम गर्न नलगाएमा प्रत्येक दिन एक घण्टाको दरले चक्का जामको समय बढाउने स्थानीयले बताएका छन् ।