नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

एकिकृत शिक्षक संगठनको महासचिवमा ओखलढुङ्गाका खतिवडा निर्वाचित

ओखलढुङ्गान्युज चैत, ओखलढुङ्गा एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय अध्यक्षमा शंकर अधिकारी तथा केन्द्रिय महासचिवमा ओखलढुङ्गाका कुल प्रसाद खतिवडा निर्वाचित भएका छन् । फागुन २९ देखी सुरु भएर चैत १ मा सम्पन्न भएको संगठनको ऐतिहासिक छैठौं राष्ट्रिय अधिवेशनबाट खतिवडा सर्बसम्मत निर्वाचित भएका हुन् ।

संगठनको छैठौं महाधिबेशनले अधिकारीको अध्यक्षतामा ९९ सदस्यिय केन्द्रिय टिम सर्बसम्मत निर्वाचित गरेको हो । संगठनले सर्वसम्मत निर्वाचित गरेको केन्द्रीय पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष मानबहादुर पाण्डे, उपाध्यक्ष हरुमा झपिन्द्र क्षेत्री, निम बहादुर के.सी, चेतना रेग्मी, पुष्प न्यौपाने, किरण यादव, रेश्मिलाल चपाइ, सोमनाथ ढुंगाना, देविदत्त यादव रहेका छन् ।

त्यस्तै महासचिव कुलप्रसाद खतिवडा, अर्थ उपमहासचिव गणेशप्रसाद रिजाल, सचिव नमराज शाही, विरेन्द्र मल्ल, केन्द्रीय सदस्यहरु भिम प्रसाद पोखरेल, छाया रेग्मी, कमालदिन मिया लगायत रहेका छन् । त्यस्तै पूर्णप्रसाद दवाडीको अध्यक्षतमा ११ सदस्यिय केन्द्रीय सल्लाहकार समितिको समेत सर्बसम्मत निर्वाचित गरेको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनलाई नेपाली उत्पिडित श्रमजिवी शिक्षक र कर्मचारीहरुको आशा भरोसाको रुपमा शिक्षकहरुले लिएका छन् । शिक्षक संगठनको ऐतिहासिक छैठौं राष्ट्रिय महाधिवेशनले विशेषगरी संघीय शिक्षा ऐन ल्याउन सम्पुर्ण रुपमा पहल गर्ने निर्णय गरेको छ । त्यस्तै समाजवादी शिक्षाको खाका तयार पार्ने, नेपाल सरकार र नेपाल शिक्षक महासङ्घ विच भएको ५१ वुदे सहमति कार्यान्वयनको लागि तुरुन्त पहल गर्ने, संगठनको केन्द्रिय वहुउद्देशिय भवन निर्माण गर्ने, संगठन पुनर्निर्माण र एकताको लागि व्यापक तयारि गर्ने लगायत विषयमा निर्णय गरेको महासचिव खतिवडाले जानकारी दिए ।

खतिवडा प्रदेश सरकारवाट पटक पटक उत्कृष्ट विद्यालयको रुपमा सम्मान पाउन सफल जिल्लाको मोलुङ गाउँपालिका २ मा रहेको बरुणेश्वर मावि रामपुरका प्रधानाध्यापक हुन् । पाचौं राष्ट्रिय सम्मेलन वाट केन्द्रीय अर्थ उपमहासचिवको जिम्मेवारी पाएका खतिवडा यसपटक भने महासचिव बनेका हुन् । छैठौं राष्ट्रिय महाधिबेशनमा ओखलढुङ्गाबाट रामकुमार ढकाल पनि केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।