नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

बुबाको पुण्यतिथीमा बालबालिकालाई झोला

ओखलढुङ्गान्युज चैत, नर्मदेश्वर । जिल्लाको लिखु गाउँपालिकाका एक युवाले आफ्नो. बुबाको पुण्य तिथीको दिन पारेर विद्यालयका बालबालिकाहरुलाई झोला वितरण गरेका छ । लिखु गाउँपालिका ३ नर्मदेश्वरका युवा अशोक श्रेष्ठले बुबाको दोश्रो पुण्य तिथिको अवसरमा आफुले पहिले अध्ययन गरेको श्री भिमसेन स्थान माद्यमिक विद्यालयका भाइबहिनीहरुलाई झोला वितरण गरेका हुन् ।

अशोकले विद्यालयका कक्षा १ देखी ५ सम्म अध्ययन गर्ने ५० जना विद्यार्थी भाइबहिनीहरुलाई वडा अध्यक्ष सोकर्ण श्रेष्ठको उपस्थितीमा आमा गीतामाया श्रेष्ठको हातवाट बुधबार झोला वितरण गरेका हुन् । विद्यालयका भाइबहिनीहरुलाई झोला वितरण गरेपछि आफुलाई खुशी प्राप्त भएको अशोकले बताए ।

सामुदायीक विद्यालयमा गरिब तथा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने र कतिपयको झोला किन्न सक्ने समेत क्षमता हुदैन । साना नानीहरुसँग झोला नहुँदा किताव, कापी, पेन्सिल हराउने हुदा घरमा आएपछि बाबाममीले तिनै बालबालिकालाई गाली गर्छन् । पिट्छन् । जसले बालबालिकाको मष्तिष्कमा नराम्रो छाप पर्नुका साथै अध्ययनमा कमजोर पनि हुनसक्छन् । त्यसैले त्यस्ता बालबालिकालाई थोरै भएपनि सहयोग पुगोस् र बुबाको मृत्युपछि गरिने अन्य दान धर्म भन्दा पनि यो चाहि थप पुण्यको काम हो जस्तो लागेर झोला वितरण गरेको अशोकले बताए ।

गरिब तथा विपन्न परिवारका साना बालबालिकाहरुलाई झोला प्रदान गरेर पढाईमा प्रोत्साहन गरेकोमा वडा अध्यक्ष सोकर्ण श्रेष्ठले धन्यवाद दिए । बुबाको पनि शिक्षा क्षेत्रमा लगाव रहेकोले पुण्य तिथिमा बालबालिकालाई झोला वितरण गरेर अशोकले थप पुण्यको काम गरेको बताए । आफ्ना विद्यालयको बालबालिकालाई झोला प्रदान गरेको विद्यालयको तर्फवाट विद्यालयका प्रधानाध्यापक दिपक तामाङले पनि दातालाई धन्यवाद प्रदान गरेका थिए ।

अशोकका बुबा बेद बहादुर श्रेष्ठको ७० वर्षको उमेरमा २०७७ साल चैत २२ गते मृत्यु भएको थियो । सामाजिक तथा शिक्षा विकासको क्षेत्रमा लोकप्रिय रहनुभएका बेद बहादुर श्रेष्ठको एक श्रीमती, चारजना छोरी तथा एकजना छोरा छन् । समाजसेवी श्रेष्ठ हाल चम्पादेवी गाउँपालिकाको कृषि शाखाको प्रमुखको रुपमा कार्यरत रहेका छन् ।