नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गा क्याम्पसमा स्ववियू निर्वाचन स्थगित, तत्काल निर्वाचन गराउन नेविसंघ र क्रान्तिकारीको माग

ओखलढुङ्गान्युज चैत, ओखलढुङ्गा जिल्ला सदरमुकाममा रहेको ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गामा चैत ५ मा स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव नहुने भएको छ । क्याम्पसले मंगलबार एक सूचना जारी गर्दै चैत ५ गते हुने स्ववियू निर्वाचन स्थगित गरेको जनाएको हो ।

क्याम्पसमा प्रतिष्पर्धामा रहेका विद्यार्थी संगठनहरुको विचमा सहमती कायम हुन नसकेको कारण निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकेकोेले चैत ५ गते हुने भनिएको स्ववियू निर्वाचन स्थगित गरिएको क्याम्पसका स्ववियू निर्वाचन अधिकृत तोयानाथ काफ्लेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

मंगलबार जारी गरिएको सूचनामा निर्वाचन कार्यतालिका अनुसार कार्यप्रक्रिया अघि बढ्न नसेकेकोले क्याम्पस ब्यवस्थापन समिती, शिक्षक स्टाफ र निर्वाचन समितीको फागुन २९ गते बसेको बैठकको निर्णय अनुसार स्ववियु चुनाव स्थगित गरिएको उल्लेख छ । सूचनामा विद्यार्थी संगठनहरुबिच आपसी सहमती भएपछि मात्र आगामी मिति र समयमा कार्यतालिका प्रकाशन गर्ने गरी अर्को सुचना प्रकाशन नभएसम्म हाललाई स्ववियू चुनाव स्थगित गरेको सूचनामा भनिएको छ ।

स्ववियू निर्वाचनलाई प्रभावित पार्दै क्याम्पसले एक संगठनलाई मात्र फाईदा गर्नेगरि विद्यार्थी भर्ना गरेको तथा विद्यार्थी भर्ना शुल्कमा समेत एकरुपता कायम नगरेको भन्दै नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई समितीले क्याम्पसमा ताला लगाएका थिए । विद्यार्थी भर्ना तथा भर्ना शुल्कमा विवाद भएपछि नेविसंघले गत फागुन २१ गते क्याम्पसमा ताला लगाएको थियो ।

क्याम्पस स्ववियू निर्वाचन समितिले निर्वाचन हुन नसक्ने भन्दै सूचना जारी गरेपछि क्याम्पसका दुई विद्यार्थी संगठन नेवि संघ र अखिल क्रान्तिकारीले भने एक विज्ञप्ती जारि गर्दै चाडो स्ववियू निर्वाचन सम्पन्न गराउन माग गरेको छ । संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘शैक्षिक संस्थाले विद्यार्थीको हकहित र गुणस्तरीय शिक्षा प्रदान गर्न खबरदारी गर्ने जिम्मेवार पक्ष स्ववियूको निर्वाचन छिटो गराउनुपर्नेमा अमुख संगठनको दबाब र प्रभावमा नपरी चाडो भन्दा चाडो निर्वाचन गराई स्ववियूलाई पूर्णता दिनुहुन हामी संयुक्त रुपमा स्ववियू निर्वाचन समिति समक्ष आग्रह गर्दछौं ।’