नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

नेपालमा बढ्न थाले पर्यटक

ओखलढुङ्गान्युज १७ फागुन, काठमाण्डौं पछिल्लो समय नेपालमा पर्यटकहरु आउने क्रम बढेको छ । पर्यटकहरुको आगमन बढेसँगै होटल व्यबसायी र ट्रेकिङ ब्याबसायीहरुमा खुशीयाली छाएको छ । कोरोना महामारीसँगै सुस्ताएको पर्यटकको आगमन सन् २०२३ को सुरुवातसँगै बढेको हो ।

कोरोना महामारी सुरु भएपछिका दुई वर्ष सन् २०२१ र २०२२ मा घटेको पर्यटक सङ्ख्या यस वर्ष बढेको हो । गएको एक महिनामा मात्रै नेपालमा ७३ हजार जनाभन्दा धेरै पर्यटक आएका छन् । गएको फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यसअघि सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ जना र २०२१ को फेब्रुअरीमा नौ हजार एक सय ४६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को फेब्रुअरीमा एक लाख दुई हजार चार सय २३ जना पर्यटक नेपाल आएकामा त्यसपछि गत महिना मात्रै नेपालमा पर्यटकहरुको आगमन बढेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

फेब्रुअरीमा पर्यटकको सङ्ख्या बढेसँगै २०२३ को दुई महिनाको अवधिमा नेपाल भ्रमणमा आएका पर्यटकको सङ्ख्या एक लाख २८ हजार तीन सय २९ जना पुगेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक लामिछानेलेका अनुसार गएको फेब्रुअरीमा २ हजार २ सय ६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । जनवरीमा एक हजार चार सय ३६ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । त्यस्तै फेब्रुअरीमा भारतबाट १८ हजार ४ सय १ जना पर्यटक नेपाल आउका छन् ।

त्यसैगरि अमेरिकाबाट ७ हजार ८ सय ८७ जना, थाइल्यान्डबाट ४ हजार ८ सय २ जना, बेलायतबाट ४ हजार ३ सय ४५ जना र दक्षिण कोरियाबाट ३  हजार २ सय ४६ जना पर्यटक नेपाल आएका छन् । पर्यटकहरुको आगमन बढेसँगै कोरोना महामारीले नराम्ररी प्रभावित बनेको नेपालको पर्यटन उद्योगमा खुशीयाली छाएको छ ।