नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

विहिबार २१ अंक बढीले घट्यो सेयर बजार

ओखलढुङ्गान्युज । ४ फागुन, काठमाण्डौं । साताको कारोबार भएको पहिलो दिन देखी गिरावट आएको सेयर बजार साताको पाचौ दिनमा पनि घटेर नै बन्द भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको हो ।

साताको अन्तिम कारोबार दिन आज विहिबार नेप्से परिसूचक २१ दशमलब १५ अंक घटेर २ हजार ७० दशमलब ४१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३ दशमलब ७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलब ४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलब ३७ अंकले घटेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४ कारोबारमा नेप्से परिसूचक १ सय १२ दशमलब २२ अंक घटेको हो ।

बिहीबार कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता सेयर १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार नेप्से कारोबार रकम पनि गिरावट आएको छ ।

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ दशमलब ९३ प्रतिशत घटेको छ। त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।