नेपाली समय Loading...२०८० आश्विन ७ आईतवार

शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

ओखलढुङ्गान्युज २९ माघ, काठमाण्डौं केहिदिन अगाडी गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा  मृत्यु हुनेको संख्या २८  हजार नाघेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टर्कीमा मात्रै २४  हजार ६ सय २७ जना र सिरियामा ३ हजार ५ सय ७५ जनाले ज्यान गुमाका छन् । संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबार विहीन भएको अनुमान गरेको छ । भूकम्प गएको क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका छन् ।

भूकम्प गएको १२९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ । कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन् । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन्।

टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई  खाना तत्काल आवश्यक भएको बताएका छन्। मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन्।