नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

प्रेस काउन्सिलको एक्सन, ६ महिनामा ४५ सञ्चारमाध्यम कार्बाहीमा

ओखलढुङ्गान्युज १२ माघ, काठमाण्डौं पछिल्ला दिनहरुमा आचार संहिता विपरित गतिबिधी सञ्चारमाध्यमहरुले गर्न थाले पछि प्रेस काउन्सिल एक्सनमा उत्रिएको छ । एक्सन अन्तर्गत पछिल्लो ६ महिनामा मात्रै देशभरका ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लंघनमा काउन्सिलले कारबाही गरेको छ ।

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक पटक दिएको निर्देशन अवज्ञा गरेको भन्दै कार्बाही गरेको काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्बाहीमा परेका मध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ । आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक पटक दिएको निर्देशन अवज्ञा गरेकोले आइअफनेपाल डटकमलाई कालोसूचीमा राखी थप कारबाही अघि बढाइएको काउन्सिलले विज्ञप्ती मार्फत जनाएको छ ।

त्यस्तै अदालतमा विचाराधिन मुद्दा प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको जनाएको छ । अदालतमा विचाराधीन रहेको विषयमा मुद्दा प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको काउन्सिलका सह–प्रवक्ता एवं सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले गरेको स्वअनुगमनमा आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने २८ वटा सञ्चार माध्यममध्ये २ वटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, ११ वटालाई सचेत, ४ वटालाई स्पष्टीकरण र ५ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन पत्राचार गरिएको  विज्ञप्तिमा जनाइएको छ ।

यस्तै उजुरीका आधारमा काउन्सिलमा दर्ता÷सूचीकरण नभएका १६ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको छ । काउन्सिलले पछिल्लो समयमा विज्ञापनको नाममा अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार सम्प्रेषण गरेका ६ वटा गुनासा परेको जनाएको छ । यस्तो कार्य प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत र पत्रकारिताको दुरूपयोग भएको भन्दै काउन्सिलले सञ्चार माध्यमलाई सजगता अपनाउन ध्यानाकर्षण गराएको छ । अटेरी गरे कारबाही हुने काउन्सिलको चेतावनी छ ।

काउन्सिलमा २०७९ साउनदेखि हालसम्म विभिन्न मिडियाविरुद्ध नियमित तर्फ ९७ वटा उजुरी, एक जनगुनासो दर्ता भएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको विशेष अनुगमनका १५ वटा उजुरी र अनुगमन भएकामध्ये १ सय ५१ वटा सामग्री आचारसंहिता प्रतिकूल पाइएको काउन्सिलले जनाएको छ । तीमध्ये २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत, १८ वटालाई मौखिक ध्यानाकर्षण तथा निर्देशन, २७ वटालाई स्पष्टीकरण सोधिएको र ७ वटालाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको थियो ।