नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आज श्रीपञ्चमी अर्थात विद्याकी देवी सरस्वती पूजा

ओखलढुङ्गान्युज १२ माघ, ओखलढुङ्गा आज माघ शुक्ल पक्षको पञ्चमी तिथि, श्रीपञ्चमी वा वसन्तपञ्चमी पर्व । आज विशेषतः विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने दिन । विद्या आर्जन गर्नेहरूले आजको दिन सरस्वतीको विशेष पूजा अर्चना गर्ने गर्दछन् ।

यस दिन विद्यार्थीले पुस्तक, कलम लगायत सामग्री तथा संगीत साधकले वाद्ययन्त्रको पूजा गर्छन् । साना बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ । सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ।

शास्त्रहरुमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ । शारदा, श्री आदि नामले पनि सरस्वतीको आराधना गरिन्छ । पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ । श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्ने पनि परम्परा छ ।