नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

खोटाङमा बस दुर्घटना, ६ घाईते, तिनजनाको अबस्था गम्भिर

ओखलढुङ्गान्युज १० पुष, खोटाङ आईतवार विहानै खोटाङमा बस दुर्घटना भएको छ । आईतबार विहान उदयपुरको गाईघाटबाट यात्रु लिएर खोटाङ आउदै गरेको प्र १–०५–००१ ख ००१७ नम्बरको भएको बस दुर्घटनामा परि बसमा सवार एक गर्भवती महिला सहित ६ जना घाईते भएका छन् । घाईते मध्ये तीनजनाको अबस्था गम्भिर रहेको छ ।

बस खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुईपामा बुईपा बजार क्रस गरेर स्वास्थ्य चौकी भन्दा तल पुगेपछि दुर्घटना परेको हो । बस सडकबाट करीब ५ मिटर तल खसेको थियो ।

बस दुर्घटनामा परि घाईते हुनेहरुमा ऐसेलुखर्क गाउँपालिका वडा नं. २ खार्पाका २० वर्षिय कुशल सार्की, हलेसी तुवाचुङ नगरपालिका वडा नं. ११ राजापानीका १६ वर्षकी गर्भवती रेनुका भुजेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १५ विजयखर्कका ७३ वर्षका आईते सार्की, सोही स्थानकी सुस्मिता ढुङ्गाना, बुईपा कट्टीकी दिल कुमारी श्रेष्ठ र बुईपा खिरीका बिरेन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

बस दुर्घटनामा परी घाईते भएका मध्ये बिरेन्द्र घिमिरे, गर्भवती रेनुका भुजेल र दिल कुमारी श्रेष्ठको अबस्था गम्भिर रहेको छ । गम्भिर अबस्थामा रहेका घाईतेहरुलाई उद्धार गरि उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं पठाईएको पनि प्रहरी प्रमुख मुकारुङले जानकारी दिए । बाँकी तीनजनाको स्थानीय स्वास्थ्य चौकी बुईपामा उपचार भैरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको खोटाङ प्रहरीले जनाएको छ ।

सडकबाट खसेको बस भिरको रुखमा अड्किएको थियो । रुखमा अड्किएका कारण थप ठूलो क्षति हुन नपाएको बसका यात्रुहरुले बताएको खोटाङबाट पत्रकार दमन राईले जानकारी दिए । बसका सहचालकले बस चलाउदा दुर्घटना दुर्घटना भएको यात्रुहरुले बताएका छन् । बस दुर्घटना भएपछि बसका चालक र सहचालक दुवै फरार भएका छन् ।