नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

कुन्तादेवीको संजय बाख्राफर्ममा आगलागी, १२० खसी बाख्रा मरे, ८० लाख बढीको क्षति

ओखलढुङ्गान्युज २८ मंसिर, ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ मा रहेको संजय बाख्रा फर्ममा भिषण आगलागी भएको छ । आगलागीमा परि फर्ममा रहेका १२० वटा खसी बाख्राहरु जलेर मरेका छन् ।

मंगलबार राति काठले बनेको खोरमा आकस्मिक आगलागी हुँदा गोठका सवै खसी बाख्रा जलेर मरेका हुन् । गोठमा बाख्राको हेरचाह गर्न मानिसहरु राखिएको भएपनि आगलागी हुदा उनीहरुले थाहा नपाएकोले ठूलो क्षति भएको बताईएको छ ।

गोठमा आगलागी सुरुवात भएपनि गोठकै अर्कापटि रहेका बाख्रा हेरालुहरुले थाहा पाएनछन् । पारि गाउँमा विहेमा जम्मा भएको मानिसहरुले आगलागी भएको देखेर हल्ला गर्दै गोठसम्म आईपुग्दा गोठ जलेर गोठका सबै खसी बाख्रा मरिसकेका थिए । स्थानीय अर्जुन गिरीले भने ‘गोठमा मानिसहरु आईपुग्दा बाख्राको हेरालु बसेको ठाँउपनि जल्न लागिसकेको रहेछ । मान्छेको होहल्ला सँगै बुढाबुढी दुवैजना बाहिर निस्किए । तर उनीहरुको साना दुई वच्चा चाहि भित्र । बच्चा बचाईदिनुस भनेपछि आगो निभाउन जम्मा भएकाहरुले बच्चाहरुलाई सकुशल निकाले । धन्न मानविय क्षति भने भएन ।’

मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीमा रहेको मोलुङ खोला नजिकै कुन्तादेवीका युवा समाजसेवी सञ्जय खत्रीले करीब ५ वर्ष देखी बाख्रा फर्म सञ्चालन गर्दै आएका थिए । झण्डै ५० लाख बढिको लगानीमा खत्रीले दुईतले काठको गोठ बनाएर बाख्रा पालन गर्दै आएका थिए । बाख्रा फर्ममा हेरालुहरु पनि राख्दै आएका थिए ।

आगलागीका कारण करीब ८० लाख बढिको क्षति भएको पाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक खनालका अनुसार विद्युतको तारमा सर्ट भएर आगलागी भएको आशंका गरिएको छ ।