नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

आज मंसिरे अर्थात योमरी पूर्णिमा

ओखलढुङ्गान्युज । २२ मंसिर, ओखलढुङ्गा । आज मंसिरे पूर्णिमा अर्थात योमरी पूर्णिमा । मार्ग शीर्ष शुक्ल पूर्णिमाका दिनलाई धान्य पूर्णिमाका रुपमा पनि चिनिन्छ । यस दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ ।

विशेषगरी पहाडी भेगमा आज गोठपूजा (गोठधुप) गर्ने चलन छ । गोठ सफासुग्घर गरी गाईबस्तुको पूजा गरिन्छ । कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने चलन छ । कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ।

नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा  छ । कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि दिने प्रचलन छ ।

नेवार समुदायमा थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्व छ । अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन  छ । लक्ष्मी, गणेश, कुमार, कुवेर लगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ ।