नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन

ओखलढुङ्गान्युज । २१ मंसिर, विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राइले बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्नुभएको छ । सेभ द चिल्ड्रेन ग्लोबल फण्डको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापना भएको यस्तो किसिमको प्रदेश जनस्वास्थ्य प्रयोगशाला मध्ये यो नेपाल कै पहिलो प्रयोगशाला हो ।

प्रयोगशाला उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले स्वास्थ्य र शिक्षामा लगानी गर्नु अत्यावश्यक भएकोले भविष्यमा बन्ने नयाँ सरकारले  यस  क्षेत्रमा बजेट विनियोजन गर्नेछ भन्ने विश्वास ब्यक्त गर्नुभयो । त्यस्तै स्वास्थ्यमन्त्री जयराम यादवले यस प्रयोगशालालाई उत्तम अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउने कार्यकालागि प्रदेश सरकारको तर्फ प्रतिबद्धता व्यक्त गरे ।

सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड कार्यक्रम अन्तर्गत एच्.आइ.भी., क्षयरोग र मलेरीया सम्बन्धी काम गर्छ । नेपालमा हाल बिरामीको मृत्यु हुने मध्येको एक प्रमुख कारण समयमा रोगको पहिचान हुन नसक्नु हो । ग्लोबल फण्डको सहयोगमा स्थापना भएको यस प्रयोगशालाले एच्.आइ.भी., क्षयरोग र मलेरीयाकाको मात्र नभई सम्पूर्ण रोगहरूको समयमै पहिचान, उपचार र निराकरणमा सहयोग पु¥याउने अपेक्षा रहेको सेभ द चिल्ड्रेनका पूर्व फिल्ड कार्यालयका एसोसीएट डाइरेक्टर डा. अजयकान्तले बताए ।

प्रदेशमा सञ्चालित सबै स्वास्थ्य प्रयोगशालाहरूलाई नियमन गर्न प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने उद्देश्यले यस प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरीएको हो । यसले प्रयोगशाला स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्रयोगशालाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने छ । त्यस्तै प्रयोगशालाको गुणस्तर सुधार गर्ने, मापन गर्ने र तिनीहरूलाई प्रमाणित गर्ने, सर्वसाधारणलाई न्यूनतम लागतमा प्रयोगशाला सेवाहरू उपलब्ध गराउने र चिकित्सा क्षेत्रमा अनुसन्धान र विकास गर्ने जस्ता कार्यहरू यस प्रयोगशाला मार्फत हुनेछ ।

स्वास्थ्य मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा सेभ द चिल्ड्रेन ग्लोबल फण्डले रु. ९ करोड ३१ लाख ८२ हजारको लागतमा प्रयोगशाला निर्माण  सम्पन्न गरेको हो ।  प्रयोगशालाको भवन निर्माण कार्य २०७७ मंसीरमा सुरु गरी २०७९ मंसीरमा सम्पन्न गरीएको हो ।