नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

प्रदेश १ मा कुन पार्टीको कति सिट समानुपातिक ?

ओखलढुङ्गान्युज । १९ मंसिर, विराटनगर । प्रदेश नं १ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न हुदा समानुपातिक तर्फ पनि नेकपा एमाले ठूलो पार्टी बनेको छ ।

२०७४ सालमा प्रदेश सभामा ६ लाख ७३ हजार ७ सय ९ मत पाएको एमालेले यसपटक ६ लाख ६५ हजार ४ सय ६० मत पाएको छ । त्यस्तै २०७४ सालमा ५ लाख ८६ हजार २ सय ४६ मत ल्याएको नेपाली काँग्रेसले यो पटक ५ लाख ६२ हजार ९ सय ५६ मत पाएको छ । 

माओवादी केन्द्रले पनि अघिल्लो निर्वाचनमा २०७४ मा २ लाख ६ हजार ७ सय ८१ मत पाएकोमा यसपटक १ लाख ८१ हजार २४५ मत पाएको छ । अघिल्लो पटक प्रदेशसभामा प्रत्यक्षमा १ र समानुपातिकमा २ गरी तीन सांसद रहेको चौथो ठूलो दल बनेको जसपा (तत्कालिन संघीय समाजवादी) ले पनि २०७४ सालमा ७० हजार ४ सय ५६ मत पाएकोमा यसपटक ६१ हजार ७२३ मत मात्र पाएको छ ।

राप्रपाले भने अघिल्लो पटकको तुलनामा यस पटक छलाङ हानेको छ । राप्रपाले २०७४ सालमा ५७ हजार ३४२ मत ल्याएकोमा यो पटक १ लाख ४१ हजार १६९ मत बढाउँदै करिब २ लाख मत प्राप्त गरेको छ ।

नेकपा एमालेबाट टुक्रिएको नेकपा (एकीकृत समाजवादी)ले ५५ हजार ९ सय ५७ मत पाएको छ । प्रदेशसभाको समानुपातिक सिट प्राप्त गर्न १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ । अन्तिम मतपरिणाम अनुसार काँग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा र एकीकृत समाजवादीले मात्र थ्रेसहोल्ड कटाएका छन् ।

समानुपातिक निर्वाचनमा प्राप्त मतलाई निर्वाचन आयोगले सेन्ट लग सुत्रबाट हिसाब गरि सिट बाँडफाँग गर्ने गर्दछ । त्यसअनुसार समानुपातिकको ३७ सिटमा नेकपा एमालेले १५ सिट पाउने भएको छ । यस्तै नेपाली काँग्रेसले १२, माओवादी केन्द्रले ४, राप्रपाले ४, जसपाले १ र एकीकृत समाजवादीले १ सिट पाउनेछन् ।

२०७४ सालमा भएको आम निर्वाचमा प्रदेश नं. १ मा कूल सदर मत १७ लाख ३६ हजार ६ सय २२ रहेको थियो । आम निर्वाचन २०७९ मा भने सदरमत १८ लाख ९९ हजार १४४ रहेको निर्वाचन आयोगले जनाएको छ ।