नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सोलुखुम्बु खटिएका एक मतदान अधिकृतको मृत्यु

ओखलढुङ्गान्युज । ३ मंशिर, सोलुखुम्बु । निर्वाचनमा मतदान सम्पन्न गराउन खटिएका एक मतदान अधिकृत सोलुखुम्बुमा मृत भेटिएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं. ४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका हुन् । 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं. ४ फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहले जानकारी दिए । प्रहरी नायब उपरीक्षक शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन् । 

सर्लाही हरिपुर्वा नगरपालिका-५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत कर्मचारी हुन् । उनले लामो समयदेखि सुगर र मुटुको औषधी प्रयोग गर्दै आएको खुलेको छ ।

घटनाबारे जानकारी हुनासाथ घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।