नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आउन थाल्यो ओखलढुङ्गामा निर्वाचन सामाग्री

ओखलढुङ्गान्युज । १६ कातिक, ओखलढुङ्गा । प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन मंशिर ४ नजिकिदै गर्दा निर्वाचन आयोगले देशभर निर्वाचन सामाग्रीहरु पठाउन थालेको छ । यस क्रममा ओखलढुङ्गामा पनि निर्वाचन सामाग्रीहरु आउन थालेका छन् ।

निर्वाचनको प्रयोजनार्थ ८४ प्रकारका सामाग्रीहरुको आवश्यकता पर्नेमा शोमबार विहानसम्म जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गामा ३४ प्रकारका सामाग्रीहरु आईपुगेको जिल्ला निर्वाचन अधिकारी प्रेम प्रसाद न्यौपानेले जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी न्यौपानेका अनुसार छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप, स्टाम प्याड, मार्कर पेन, स्केल मेटल, ग्लुस्टिक, पन्चिङ मेसिन, सोसर, प्लाष्टिक बोरा, प्लाष्टिक थैला, स्टिच मेसिन, परिचय पत्र कार्ड, प्राथमिक उपचारका सामग्री लगायतका सामग्रीहरु जिल्ला आईपुगेका हुन् ।

निर्वाचन प्रयोजनार्थ आवश्यक पर्ने अन्य बाँकी सामग्रीहरु भने कार्तिक २० गतेसम्म जिल्लामा आईसक्ने निर्वाचन अधिकारी न्यौपानेले जानकारी दिए । जिल्लामा आईपुगेका सामग्रीहरु हाल निर्वाचन कार्यालयमै संकलन गरेर राखिएको छ । मंसिर १ गतेभित्र मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा कर्मचारीहरु छनौट तथा आवश्यक तालिम पश्चात निर्वाचन सामग्री सहित सम्बन्धित केन्द्रमा खटाईने न्यौपानेले बताए ।

यसअघि ओखलढुङ्गामा केहिदिन अघि मात्रै समानुपातिक तर्फको झन्डै २ लाख ६४ हजार थान मतपत्र जिल्ला आईसकेको छ ।