नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

आसन्न निर्वाचनमा सुरक्षाकर्मी बाहेक साढे २ लाख जनशक्ति परिचालन गरिने

ओखलढुङ्गान्युज । १६ कातिक, काठमाण्डौं । प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचन मिति मंशिर ४ आउन अब १८ दिन बाँकी छ । त्यसै चुनावलाई लक्षित गरेर निर्वाचन आयोगले तयारीलाई तिब्र पारेको छ । चुनाव लक्षित कार्यक्रम तिब्र बनाउदै गर्दा यसपटकको चुनावमा सुरक्षाकर्मी बाहेक झण्डै साँढे दुई लाख अर्थात २ लाख ४६ हजार भन्दा बढी जनशक्ति परिचालन हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोग सम्बन्धी ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था छ । आयोगको मुख्य कार्यालय सहित देशभरका सबै जिल्लाहरुमा असोज २० गते नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भैसकेको छ ।

प्रत्येक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत सहित ९ जना र निर्वाचन अधिकृतको कार्यालयमा पनि ९ जना कर्मचारी रहनेछन् । मतपत्र रुजु गर्ने, प्याकेजिङ्ग गर्ने तथा मतदान अधिकृतलाई मतपत्र बुझाउने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा निर्वाचन अधिकृतले कर्मचारी काजमा ल्याउन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थासँग सम्बद्ध राष्ट्रिय स्तरको ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा त्यस निर्वाचन क्षेत्रमा नखटाइने व्यवस्था छ । चुनाव आउन अब १८ दिन बाँकी छ ।