नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

लिखुका चन्द्रले लगाएको सयपत्री फूलले बजार पाएन, तपाईलाई चाहिए सम्पर्क गर्नुस

ओखलढुङ्गान्युज कातिक, ओखलढुङ्गा तिहारको लागि लक्षित गरेर रोपिएको फुलले बजार नपाउदा फूल व्याबसायी सिंहदेवीका चन्द्र बहादुर तामाङ चिन्तित भएका छन् । लिखु गाउँपालिका वडा नं. २ का तामाङले सिंहदेवीको दाहालटार भन्ने स्थानमा लगाएको फुलखेतीले उचित बजार मूल्य नपाएको हो ।

तामाङले यस वर्ष अर्काको जग्गा भाडामा लिएर १२ रोपनी जग्गामा फूल खेती गरेका हुन् । तिहारको समयमा काठमाण्डौं सयपत्री फूलको मूल्य प्रतिकिलो ४ सय देखी ५ सय सम्ममा बिक्रि भैरहेको छ । तर उनले प्रतिकिलो २ सयमा दिदा पनि विक्रि नभएको तामाङको गुनासो छ । तामाङले ड्रयागन फ्रुट खेतीभित्र उनले घुसुबालीको रुपमा फूलको खेती गरेका हुन् । 

तामाङले लगाएको बारीमा अहिले करिब १५ सय किलो भन्दा बढि फूल फुलेको छ । गाउँ आसपासका बजार क्षेत्रलाई लक्षित गरेर पूुल खेती गरेको भएपनि फूलले उचित मूल्य नपाएको तामाङको भनाई छ । फूलले उचित बजार र बजार मूल्य नपाउदा उनको लगानी यसवर्ष डुब्ने लगभग पक्कापक्की भएको हो । यस वर्ष फूलले बजार पनि पाएको छैन भने तिहारको सिजन चाडो हुदा फूलको डालीमा आधीसरो पनि फूल फुलेको छैन ।

लामो समयसम्म बैदेशिक रोजगारीको क्रममा विदेश रहेर स्वदेश फर्किएका तामाङ आफैले जग्गा भाडामा लिएर फुलखेती गरेका हुन् । तामाङले फूलखेती गरेपनि उत्पादन भएको फूलको बारेमा बजारमा प्रचार नहुँदा विक्रि नभएको र विक्रि भएका फूलले पनि उचित मूल्य नपाएको हो । तिहारको भाइटिका अझै केहिदिन बाँकी रहेकोले सयपत्री फूलको आवश्यक हुनेहरुले आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

यस वर्ष प्रचारप्रसारको अभावमा फूल विक्रि तथा उचित मूल्य नपाएको भएपनि फूलेको फूललाई त्यसै कुहाएर सड्न दिनुभन्दा चेलीवेटीहरुको आवश्यकतालाई सहजता बनाईदिन प्रतिकिलो २ सयसम्म सयपत्री उपलब्ध गराइदिने तामाङले बताएका छन् । सयपत्री फूलको आवश्यकता पर्नेहरुले तामाङलाई लिखु गाँउपालिका वडा नं. २ मा रहेको दाहालटार अर्थात साँघुटारवाट नर्मदेश्वर यसम जाने रोड तर्फको फूल बगैचामा गएर भेट्न सकिन्छ । तामाङलाई सिधै ९७४६४६८०७३ मा फोन गरेर पनि सम्पर्क गरेर भेट्न सकिने बताएका छन् ।