नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि

ओखलढुङ्गान्युज । २८ असोज, काठमाण्डौं । आजवाट नेपालमा नवौं नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुनेछ । आजदेखी सुरुहुन लागेको प्रतियोगिताको विशेष समारोहकाबीच पोखरा रङ्गशालामा उद्घाटन हुनेछ । उद्घाटन कार्यक्रममा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्नेछन् ।

उद्घाटन विशेष कार्यक्रममा मार्चपास, झाँकी, गीत, नाचगान लगायतका कार्यक्रम रहेको छ । कोभिड महामारी लगायतका विभिन्न कारणले रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ४ वर्षपछि हुन लागेको हो ।  प्रतियोगिता ३९ वर्षपछि गण्डकीमा हुन लागेको हो ।  यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।

प्रतियोगितामा ७ प्रदेश सहित ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।  विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउन लागेका हुन् ।

नवौँ राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता कात्तिक ३ गतेसम्म चल्ने छ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुन लागे पनि क्रिकेट, ह्याण्डबल, फेन्सिङ, फुटबल, भलिबल र हकीको प्रतिस्पर्धा यसअघि नै सुरु भइसकेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।